नानीराम नेपाल, सिन्धुपाल्चोक
साताअघि बाह्रबीसे नगरपालिकाद्वारा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा उठेका प्रतिनिधि जनसवाल हुन् यी। नगर सरकारका प्रमुख, उपप्रमुख, वडाध्यक्षसहित स्थानीय अगुवाका सामु स्थानीयले समस्या र गुनासाका यी यस्तै आवाज ओकले। स्थानीयले चुनाव जितेर पनि कार्यपालिका सदस्यले प्रतिपक्षको भूमिका खेलेकोदेखि महभीरमा नगरपालिकाले अव्यवस्थिरूपमा फोहोर फाल्दा आसपासमा दुर्गन्ध फैलिएकोसम्म आवाज उठाए।
भूकम्पको ४ वर्ष बित्नै लाग्दा पनि विद्यालयको भवन बन्न नसकेको गुनासो कार्यक्रममा गुञ्जियो। बजारमै ढल थुनिँदा बाह्रबीसे बजारका स्थानीयले आफूहरू दुर्गन्धमा बस्नुपरिरहेको आवाज उठाए। ‘गाउँ–गाउँमा सिंहदरबार भनेको त रानीपोखरी नै आएझैं भयो’, स्थानीय सीता कुथुले व्यंग्यात्मक शैलीमा भनिन्– ‘बजारमै ढल थुनिएर आहाल बनेको छ, नगरपालिकाले ढल निकास कहिले गर्छ ?’
भूकम्पपीडित लाभग्राहीमा नाम छुट भएर गुनासो दर्ता गरेको भए पनि हालसम्म सुनुवाइ नभएकोमा स्थानीयले चिन्ता व्यक्त गरे। नाम छुट हुँदा वास्तविक पीडितहरू नै अनुदानबाट वञ्चित भइरहेको आवाज सुनियो। ‘नाम छुट भएपछि गुनासो दर्ता गरियो, तर अहिलेसम्म सुनुवाइ भएन’, मेयर निमफुञ्जो शेर्पाका सामु स्थानीय नेत्रबहादुर थापाले गुनासो गरे– ‘नाम छुट भएका वास्तविक भूकम्पपीडितले अनुदान कहिले पाउँछन् ?’
नगरपालिकाले कर्मचारीका तलव र सेवासुविधा बढाएको भए पनि शिक्षकलाई सेवा सुविधाका सवालमा नसमेटेको आवाज पनि प्रतिनिधिरूपमा शिक्षकहरूले उठाए। ‘कर्मचारी भनेको नगरपालिकामा काम गर्ने मात्रै हैनन्, हामी शिक्षकहरू पनि यही नगरपालिकाकै कर्मचारी हौं’, एक शिक्षकले भने– ‘शिक्षकहरू नगरपालिकाका कर्मचारी नै होइनन् जस्तो ठानिएको छ।’ भूकम्पपछि जिल्लाका अधिकांश विद्यालयमा भव्य भवन बनिरहे पनि आफूहरूले टहरामै पठनपाठन गर्नुपरेको मानेश्वारास्थित जयगोल्मा आधारभूत विद्यालयकी प्रअ रन्जना तिमल्सिनाले सुनाइन्। ‘अन्यत्र ठूला–ठूला भवन ठडिए, हामीले टहरामै पढाइरहेका छौं’, उनले भनिन्– ‘मेयर साप, जग्गा नहुँदा विद्यालयको भवन बनाउन सकिएन।’ कार्यक्रममा सहभागी स्थानीयका जनगुनासा सुनिसकेपछि मेयर, उपमेयर, वडाध्यक्षहरू र नगरपालिकाका प्रशासकीय अधिकृतले उठेका सवालको जवाफ दिएका थिए।
मध्यभोटेकोसीले जथाभावी मक फाल्दा खोलाको सतह बढेपछि नगरपालिकाले सुनकोसीदेखि खुर्सानीबारीसम्मका ढुंगा पन्छाउने निर्णय गरिसकेको उनले बताए। निर्वाचनको पहिलो वर्ष जनअपेक्षाअनुसार काम गर्न नसकिएको भन्दै उनले फोहोरमैला व्यवस्थापनका लागि डम्पिङसाइड खोजी भइराखेको सुनाए।
कार्यक्रममा सहभागी स्थानीयले उठाएका सवालको जवाफ दिँदै उपमेयर सुशीला पाख्रिनले जनभावना र चाहनाअनुसार नै बाहबीसेको विकासमा आफूहरू लागिपर्ने बताइन्। वडाध्यक्ष बमबहादुर तामाङ, कामी शेर्पा, ज्ञानेन्द्र श्रेष्ठले आफ्ना सवालमा उठेका प्रश्नको जवाफ दिएका थिए। प्रमुख प्रशासकीय अधिकृत फणीन्द्र पौडेलले प्रशासनिक संयन्त्रसँग सम्बन्धित सवालको जवाफ दिए।











प्रतिक्रिया