नेपाल समाचारपत्र, पर्वत
पर्वत र बागलुङ जिल्लाको सिमानामा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र मोदीबेनीमा जेष्ठ नागरिक आश्रम सञ्चालनका लागि २ करोड रुपियाँको अक्षयकोष बनाइने भएको छ।
गैरआवासीय नेपाली संघ ९एनआरएनए० को सहकार्यमा अक्षयकोष बनाउन लागिएको हो। जेष्ठ नागरिक आश्रम बनाए पनि दैनिक खर्च चलाउन समस्या भएपछि रकम संकलन गरी अक्षयकोष बनाएर खर्च चलाउन थालिएको आश्रम सञ्चालक समितिका अध्यक्ष दीर्घनारायण श्रेष्ठले जानकारी दिनुभयो।
गैरआवासीय नेपाली संघले २ करोड रुपियाँसम्मको अक्षयकोष बनाउन सुझाव दिएपछि बैंकमा खाता खोलिएको श्रेष्ठले जानकारी दिनुभयो। कोषमा शुरुआतमा १ लाख रुपियाँ नेपाली जनसम्पर्क समिति बेल्जियमले पठाएको रकम जम्मा गरिएको श्रेष्ठले बताउनुभयो। मोदीबेनीमा शालग्राम महायज्ञ सञ्चालन गरि त्यसैबाट संकलित रकमले यहि असोजमा जेष्ठ नागरिक आश्रम बनाइएको थियो। पर्वत र बागलुङ जिल्लाका अगुवाहरूको भेलाले सञ्चालक समिति बनाएर कोष खडा गरेका हुन्।
दैनिक खर्चको अभाव भएपछि सञ्चालक समितिले स्थानीय, प्रदेश र संघ सरकारसँग आर्थिक सहयोग माग गरेका छन् भने गैरआवसीय नेपालीसँग पनि सहयोग माग गरेका छन्। मोदीबेनी जेष्ठ नागरिक आश्रम विकास समितिको आग्रहअनुसार बेल्जियमबाट पठाएको १ लाख रुपियाँ कोषमा जम्मा गरिएको छ। राष्ट्रिय वाणिज्य बैंकमा खाता सञ्चालन गरी अक्षयकोष बनाइएको मोदीबेनी जेष्ठ नागरिक आश्रम सञ्चालक समितिका अध्यक्ष दीर्घनारायण श्रेष्ठले जानकारी दिनुभयो।
गैरआवासीय नेपाली संघ ९एनआरएनए० का सल्लाहकार गोविन्द सुवेदीका अनुसार अहिले विदेशमा रहेका गैरआवासीय संघसंस्था र व्यक्तिबाट अक्षयकोषका लागि रकम संकलन गर्ने अभियान शुरू भएको छ। ‘हामी मोदीबेनीसँग जोडिइसकेका छौं’, सुवेदीले भन्नुभयो– ‘मोदीबेनीको विकासका लागि हामीले सक्दो सहयोग गर्नैपर्छ।’ एनआरएनएका अध्यक्ष भवन भट्टले असोज २३ गते जेष्ठ नागरिक आश्रमको उद्घाटन गर्नुभएको थियो।
बागलुङ नगरपालिका–१४ देवलबगरमा जेष्ठ नागरिक आश्रम स्थल बनाइएको छ। पर्वततर्फ २०६८ सालदेखि जेष्ठ नागरिक आश्रम सञ्चालन भइरहेको छ। पुल बनेपछि पर्वततर्फ रहेको वृद्धाश्रम बागलुङमा बनेको आश्रममा स्थानान्तरण गर्ने तयारी छ। पुल नहुँदा र सञ्चालनका लागि खर्च अभाव भएपछि आश्रम प्रयोगमा आउन सकेको छैन। कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले पुल बनाउन र कुश्माबाट मोदीबेनीसम्म जाने सडक स्तरोन्नति गर्न थालिएको बताउनुभयो। नगरपालिकाले विकासका काममा सहकार्य गर्दै आएको जोशीले बताउनुभयो।











प्रतिक्रिया