स्थानीय तहमा अझै बनेन सुशासन समिति

0
Shares

नेपाल समाचारपत्र, सल्यान
सल्यानमा स्थानीय तहको निर्वाचन भएको डेढ वर्षभन्दा बढी बितिसक्दा समेत स्थानीय तहमा अझै पनि सुशासन समिति गठन हुन सकेको छैन। नेपाल सरकारले प्रत्येक स्थानीय तहमा सुशासन समिति गठन गर्न परिपत्र गरेको लामो समय बितिसक्दा समेत जिल्लाका ६ स्थानीय तहले सुशासन समिति बनाउन नसकेका हुन्।

स्थानीय तहका प्रमुखको संयोजकत्वमा गठन हुने उक्त समितिमा नेपाल उद्योग वाणिज्य संघ, पत्रकार महासंघ, नागरिक समाज र बुद्धिजीवीलगायतको सहभागिता हुने प्रावधान रहेको छ। वित्तीय सुशासन कायम गर्न, सेवा प्रवाहलाई जनमैत्री बनाउन र समग्र सुशासनको अभ्यासलाई स्थानीय तहको एक अंगको रूपमा प्रयोग गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले प्रत्येक तहमा सुशासन समिति गठन गर्न सबै तहलाई परिपत्र गरिएको थियो।

विभिन्न प्राविधिक समस्याका कारण समिति गठन हुन नसकेको र अब आउँदो नगरकार्यपालिकाको बैठकबाट समिति गठन गरिने बन्गाड कुपिन्डे नगरपालिकाका नगरप्रमुख गोविन्द पुनले बताए। विगतमा केही समस्याका कारण जुन–जुन समिति बनाउनुपथ्र्यो बनाउन सकिने अब आउने कार्यपालिकाको बैठकमा उक्त विषय राख्ने र समिति गठन गरिने उनले बताए।

शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारीले एक हप्ताभित्र समिति गठन गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने– ‘परिपत्र आएको जानकारी नै थियो विस्तारै गरौंला भन्दा भन्दै बन्न नसकेको हो, केही दिनभित्रै कार्यपालिकाको बैठक आ≈वान गरेर सुशासन समिति गठन गर्छौं।’

जिल्लाका दार्मा, कुमाख, सिद्ध कुमाख र कपुरकोट गाउँपालिकाबाहेक अन्य ६ स्थानीय तह शारदा, बागचौर, बन्गाड कुपिण्डे नगरपालिका, कालिमाटी, त्रिवेणी, छायाँक्षेत्र गाउँपालिकाले स्थानीय तहको निर्वाचन भएको लामो समय बितिसक्दा समेत सुशासन समिति बनाउन सकेको छैनन्।