जोरायलमा जन्मदर्ता अभियान शुरू

0
Shares

डोटी, (नेस)
गाउँपालिका तथा वडाकार्यालयमा जन्मदर्ता गराउनेहरूको संख्या घट्न थालेपछि जिल्लाको जोरायल गाउँपालिकाले गाउँ–गाउँमा गएर जन्तदर्ता गराउने अभियानको शुरुआत गरेको छ। उक्त अभियानका लागि गाउँपालिकाले एक छुट्टै टोली परिचालन गरेको छ।

आफ्नो गाउँपालिकामा रहेका ५ वटै वडा कार्यालयमा गाउँ–गाउँमा पुगेर उक्त टोलीले जन्मदर्ता, विवाहदर्ता र मृत्युदर्ता गर्ने लक्ष्य राखिएको गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो। उहाँले भन्नुभयो– ‘गाउँमा खासै कसैले पनि जन्म, मृत्यर र विवाह दर्ता गरेको पाइएन त्यसैले यसलाई अभियानकै रूपमा लिएर काम गरिरहेका छौं।’

सोमबारबाट शुरू गरिएको उक्त अभियान एक हप्तासम्म चल्ने जोरायल गाउँपालिकाको कार्यालयले जनाएको छ। पाँच वर्षमुनिका बालबालिकाका लागि सरकारले बालपोषण अनुदानका लागि जन्मदर्ता भइसकेका सबैको विवरण आगामी फागुन मसान्तभित्र मुख्य घटना दर्ता तथा सामाजिक सुरक्षा सूचना व्यवस्थापन प्रणालीमा प्रविष्ट गरिसक्ने र आगामी चैतदेखि बालपोषण अनुदानबापत प्रतिमहिना ४ सयका दरले उपलब्ध गराइने गाउँपालिकाका अपाध्यक्ष जमुना बोहराले जानकारी दिनुभयो। टोली गाउँ–गाउँमा आएपछि स्थानीय खुसी भएका छन्।