शिक्षकलाई करारनामा

0
Shares

महेश न्यौपाने, रोल्पा
रोल्पाका स्थानीय सरकारले शैक्षिक करारनामा शुरू गरेका छन्। जिल्ला समन्वय समिति रोल्पाले जिल्लाका सबै स्थानीय सरकारलाई शैक्षिक करारनामा गरी शैक्षिक सुधार गर्न परिपत्र गरेसँगै यस्तो प्रक्रियाको थालनी भएको हो।

स्थानीय सरकारले आफ्नो कार्य क्षेत्रभित्रका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग करार सम्झौता गरिसकेका छन्। यसै गरी विद्यालयका प्रधानाध्यापकले समेत विद्यालयका सबै शिक्षकसँग करार सम्झौतासमेत शुरू गरेको बताइएको छ। स्थानीय सरकार तथा विद्यालयले शिक्षक करार सम्झौतालाई प्रधानाध्यापक र शिक्षकको मूल्यांकनको आधार समेत बनाउने भएका छन्। यसकै आधारमा शिक्षकलाई पुरस्कार र दण्डको व्यवस्था गर्ने योजनामा रहेको माडी गाउँपालिका शिक्षा समितिका सदस्य सचिव कविराज रिजालले जानकारी दिए।

‘करारनामा अनुसार तोकिएको लक्ष्य प्राप्त नगर्ने शिक्षकको १५ प्रतिशतसम्म ग्रेड रोक्का गर्ने भएको छौं’ –रिजालले भने। ‘गाउँपालिकाभित्रको शैक्षिक सुधारमा शिक्षकलाई बढी जिम्मेवार बनाउन यस्तो कार्यको थालनी गरेको हौं’ –रिजालले भने ।

गाउँ तथा नगर शिक्षा समितिले कार्यक्षेत्रभित्रका सबै प्रधानाध्यापकसँग करारनामा गरेका छन्। करारनामामा उल्लेखित शर्तअनुसार प्रधानाध्यापकले विद्यालय सुधार गर्नुपर्नेछ। करारनामामा निर्धारित सूचकअनुसार विद्यालय सुधार गर्ने प्रधानाध्यापकलाई गाउँ नगर शिक्षा समितिले विशेष प्रोत्साहन गर्ने भएको छ। यसैगरी प्रधानाध्यापकले विद्यालयका सबै शिक्षकसँग करारनामा गरेका छन्।

करारनामा अनुसार पहिलो त्रैमासिकमा सिकाइ उपलब्धि हासिल नगर्ने शिक्षकलाई सचेत गराउने । दोस्रो त्रैमासिकसम्म पनि सिकाइ उपलब्धि हासिल नगर्ने शिक्षकको ५ प्रतिशत ग्रेड रोक्का गरिने भएको छ। अन्तिम परीक्षामा समेत सिकाइ उपलब्धि हासिल नगर्ने शिक्षकको १० देखि १५ प्रतिशतसम्म ग्रेड रोक्का गर्ने नीति लिएको माडी गाउँपालिकाले जानकारी दिएको छ।

जिल्लाका अन्य स्थानीय तहमा रहेका शिक्षा समितिले समेत यस्तै खाले प्रावधान समावेश गरेको बताइएको छ।
स्थानीय सरकारको गठनसँगै जिल्लामा शैक्षिक सुधारका केही सिर्जनात्मक कामको थालनी भएका छन्। डिजिटल हाजिरी, शिक्षक, विद्यार्थी, अभिभावक करारनामा, शैक्षिक मेला, अंग्रेजी माध्यमको पठनपाठन, पुस्तकालय, आईसिटी, सवै कक्षामा ग्रेड वृद्धि परीक्षा आदि जिल्लाका विभिन्न विद्यालयले पछिल्लो पटक अभ्यास गरेका सिर्जनशील कामका रूपमा अथ्र्याउने गरिएको छ।