नविता र स्यान्टु ब्रान्ड एम्बासडर


नेपाल समाचारपत्र, काठमाडौं
टेबलटेनिसका चर्चित खेलाडीद्वय नविता श्रेष्ठ र स्यान्टु श्रेष्ठ भारतको चर्चित कम्पनी स्ट्याग इन्टरनेसनलको ब्रान्ड एम्वासडर बनेका छन्।

टेबलटेनिका सामग्री उत्पादन गर्ने कम्पनी स्ट्यागले पहिलो पटक नेपालका दुई खेलाडीलाई २ वर्षका लागि ब्रान्ड एम्वासडरमा नियुक्त गरेको हो। दुई वर्षे सम्झौतापत्रमा दुवै खेलाडीले हस्ताक्षर भइसकेको मंगलबार पत्रकार सम्मेलनमा जनायो। नेपाल टेबल टेनिस संघको अनुसार उक्त सम्झौता खेलाडीप्रति वार्षिक २ देखि ३ लाख रुपियाँ हुन आउनेछ।

यसरी नेपाली टेबल टेनिस खेलको इतिहासमा कुनै बहुर्राष्ट्रिय कम्पनीले खेलाडीलाई आफ्नो सद्भावना दूत बनाएको यो पहिलो मौका हो। संघका अध्यक्ष चतुरानन्द वैद्यले यसले अन्य खेलाडीलाई पनि प्रेरणा मिल्ने विश्वास व्यक्त गरे। उनले खेलाडीकै पहलमा यो कार्य सम्भव भएको र यो पैसाभन्दा पनि ड्रेस कोडका लागि रहेको बताए। नेपाली टेबलटेनिसतर्फ नम्बर एक खेलाडी स्यान्टुले सो प्रायोजनपछि आगामी कुनै पनि प्रतियोगितमा सहभागी हुँदा ड्रेस कोडमा समस्या नहुने बताए।