शहीदको बलिदानीले लोकतन्त्र बलियो: प्रम

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदको बलिदानीले लोकतन्त्र र मानवअधिकारविरोधी शक्ति परास्त भएको बताउनुभएको छ।

 शहीद दिवसका अवसरमा एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गर्नुभएको हो।  राणा शासनविरुद्ध १९९७ मा दशरथ चन्द, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले गरेको बलिदानीको स्मरण गर्दै प्रधानमन्त्री ओलीले उहाँहरूको बलिदानीले नेपालको लोकतान्त्रिक आन्दोलनप्रति गौरव लाग्ने गरेको उल्लेख गर्नुभएको छ।

‘पुस्तौंदेखि अनवरतरूपमा लोकतन्त्रका निम्ति संघर्ष गर्दै नेपाली समाज संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ युगमा आइपुगेको छ’, प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ– ‘राजनीतिक संक्रमण सम्पन्न गरी हामी देशको विकास र आर्थिक सामाजिक रूपान्तरणका लगि केन्द्रीकृत भएका छौं, त्यसैले वर्तमान सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको ध्येय सम्पूर्ण राष्ट्रको साझा लक्ष्य बन्न पुगेको छ।’

 दशकौं अघि क्रान्तिवीरले देखेको राजनीतिक अधिकार प्राप्तिको सपना साकार भएको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ। प्रधानमन्त्री ओलीले समाज रूपान्तरण र देश निर्माणको प्रक्रियामा सहभागी भएमा शहीदप्रति सच्चा श्रद्धाञ्जलि व्यक्त गरेको ठहरिने प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ।
‘यस परिप्रेक्ष्यमा म देशको आर्थिक सामाजिक रूपान्तरणको प्रक्रियामा सहभागी भई नेपाल आमाका ती महान सपुतप्रति साँचो अर्थमा श्रद्धाञ्जलि अर्पण गर्न सबैमा आह्वान गर्दछु’ –प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ।