विशेष शोमा मन पराइयो गोपी

0
Shares

आगामी शुक्रबार अल नेपाल रिलिज हुने फिल्म गोपीको सोमबार राजधानीमा विशेष शो आयोजना गरिएको छ। विपीन कार्की, वर्षा राउत र सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्ममा गाईपालक कृषकको कथा समेटिएको छ।

दृढ इच्छाशक्ति र निरन्तरको प्रयासले देशमै राम्रो उद्यम गर्न सकिन्छ भन्ने सन्देश बोकेको फिल्मको विशेष शोमा नेपाली राजनीतिक व्यक्तित्व, सरकारी उच्च अधिकारी र व्यापारीसँगै विभिन्न कलाकारको उपस्थिति रहेको थियो। फिल्म हेरेका अधिकांशले फिल्म राम्रो बनेको र फिल्म हेर्दै गर्दा आफू पनि फिल्मको पात्र गोपी भएको महसुस गरेको प्रतिक्रिया दिए। ‘किसानहरूले गौरव गर्न लायक फिल्म बनेको छ। हामी सबैको जिउमा त्यही फिल्ममा देखाइएजस्तै गोबर गान्हाउँछ। हामी पनि त्यही पृष्ठभूमिबाट आएका थियौं’, अभिनेता दीपकराज गिरीले भने– ‘होला फरक कर्ममा छौं, तर हामी सबै गोपी हौं।’

कलाकार जितु नेपालले कृषि मन्त्रालयले निर्माण गर्नुपर्ने फिल्म निजी क्षेत्रबाट निर्माण भएको र यसलाई कृषि मन्त्रालयअन्तर्गत विशेष फिल्म घोषणा गर्नुपर्ने बताए। संगीतकार अर्जुन पोखरेलले फिल्मले बोकेको स्वरोजगार र नेपालमै केही गर्न सकिन्छ भन्ने सन्देशले मन छोएको बताए। नेता योगेश भट्टराईले नेपाली मौलिक कथा बोकेको फिल्म हेर्न पाएकोमा खुसी व्यक्त गरे।

‘राजनीति गर्ने व्यक्तिलाई समेत फिल्मले प्रेरित गर्छ। जुन साहस बोकेर यो फिल्म निर्माण भएको छ त्यसको कदर गर्नुपर्छ’, भट्टराईले भने– ‘नेपाल कृषिप्रधान देश भएकाले पनि नेपालमा यस किसिमको फिल्म निर्माण हुनु गौरवको कुरा हो।’ पूर्व सञ्चारमन्त्री मोहन बस्नेतले पछिल्लो समय वैदेशिक रोजगारीका लागि नेपालीहरू पलायन भइरहेको अवस्थामा नेपालमै केही गर्न सकिन्छ भन्ने सन्देश फिल्मले बोकेको र त्यो जमातलाई यो फिल्म देखाउन सकिए फिल्मको उद्देश्य पूरा हुने विश्वास व्यक्त गरे। नेत्री नवीना लामाले सम्भावनाको खोजी गर्न सके नेपालमै बसेर आर्थिकरूपमा सबल बन्न सकिने सन्देश फिल्मले बोकेको बताइन्।