प्रदेशले दिएको बिदा लागू हुने कि नहुने ?

0
Shares

काठमाडौं, (नेस)
प्रदेश सरकारले शहीद दिवसको अवसरमा दिने भनेको बिदा सरकारी कार्यालयमा लागू हुने वा नहुने अन्योल देखिएको छ। अन्योलले प्रादेशिक संरचनाप्रति सरकारी कार्यालयका कर्मचारीप्रति अविश्वासको प्रश्न पुनः उठ्ने अवस्था निम्तिएको छ।

माघ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले शहीद दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। शहीद दिवस प्रदेश ३ को मात्र हो र भन्ने प्रश्न विभिन्न तहबाट उठिरहेको समयमा दिइएको बिदा पनि कार्यान्वयन नहुने अवस्थाले प्रादेशिक संरचनाको अभ्यासलाई कमजोर तुल्याइएको अर्थमा पनि लिइएको छ। यसअघि अरू प्रदेशले बिदा दिँदा पनि केन्द्र मातहत रहेका सरकारी कार्यालय बन्द भएका थिएनन्।

बुधबार दिइएको बिदा पनि यसअघि विभिन्न प्रदेशले दिएको बिदाझैं घोषणामा मात्र सीमित हुने स्थिति देखिएको छ। यसले गर्दा प्रदेशमा रहेका विभिन्न सरकारी कार्यालय, जिल्ला प्रशासन कार्यालय र त्यहाँका कर्मचारी प्रदेश मातहत नभएको बहस यो बिदासँगै पुन उठ्ने भएको छ।

 यसैबीच गृह मन्त्रालयले प्रदेशले दिएको बिदा केन्द्र मातहतको कार्यालयमा लागू नहुने बताएको छ, तर प्रदेश ३ का आन्तरिक मामिलामन्त्री शालिकराम जमरकट्टेलले प्रदेशले दिएको बिदा प्रदेशभर लागू हुने दाबी गर्नुभयो। उहाँले भन्नुभयो– ‘प्रदेशले सार्वजानिक बिदा दिएको हो, प्रदेशभर लागू हुन्छ।
बिदाको निर्णय हामीले गृह मन्त्रालयमा बोधार्थसमेत दिएका छौं।’ आफूहरू संघीय सरकार मातहत भएका कारण प्रदेश सरकारको निर्णय मान्न बाध्य नहुने तर्क गर्दै प्रमुख जिल्ला अधिकारीहरूले प्रदेश सरकारलाई नै चुनौती दिँदै आएको छ।