१८औं सशस्त्र प्रहरी दिवस सम्पन्न

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओली ‘अठारौं सशस्त्र प्रहरी दिवस २०७५’ विशेष समारोहमा सरिक हुनुभएको छ।

प्रधानमन्त्री ओलीले उक्त विशेष समारोहमा यसवर्ष उत्कृष्ट बाहिनी घोषित सशस्त्र प्रहरी बल, नेपाल बाहिनी मुख्यालय रूपन्देही नम्बर ५ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक चिरञ्जीवी अधिकारीलाई ‘उत्कृष्ट बाहिनी अवार्ड’ प्रदान गर्नुभयो।

प्रधानमन्त्री ओलीले सोही विशेष समारोहमा संगठनमा लामो समय सेवा गरी स–सम्मान अवकाश ग्रहण गर्नुभएका सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राई र अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रोहित थापालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’बाट सम्मान गर्नुभयो।

समारोहलाई सम्बोधन गर्नुहुँदै सम्माननीय प्रधानमन्त्री ओलीले सशस्त्र प्रहरी बल, नेपालले स्थापनाको छोटो समयमा नै प्रदर्शन गरेको देश भक्ति, कर्तव्य परायणता र क्षमताले संगठनको स्थापनाको औचित्य पुष्टि गरिसकेको चर्चा गर्नुहुँदै संगठनलाई आजको यस अवस्थामा ल्याइपु¥याउन सम्पूर्ण सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीको असाधारण मेहनत, परिश्रम र वीरता प्रदर्शनको उल्लेखनीय भूमिका रहेको बताउनुभयो।

उहाँले राष्ट्र र नागरिकको सेवा र सुरक्षाका खातिर आफ्नो प्राणसमेत आहुती दिनुहुने सम्पूर्ण वीरगती प्राप्त अमर सशस्त्र प्रहरीप्रति सम्मान व्यक्त गर्नुहुँदै नेपाल सरकारले विगतमा द्वन्द्वको अवस्थामा वीरगति प्राप्त गर्नुभएकाको सम्मानस्वरूप चार वटै सुरक्षा निकायका वीरगति प्राप्त राष्ट्रसेवकलाई शहीद घोषणा गरेको बताउनुभयो।

प्रधानमन्त्री ओलीले सशस्त्र प्रहरी बल, नेपाल देशका सबै ७७ वटै जिल्लामा रहेर शान्ति सुरक्षा तथा अमनचयन कायम गर्ने आफ्नो भूमिकामा क्रियाशील र सफल रहेको उल्लेख गर्नुहुँदै नेपाल सरकार भ्रष्टाचारमुक्त समृद्ध नेपालको सपना साकार पार्न निरन्तर लागिरहेको बताउनुभयो।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सशस्त्र प्रहरी बल नेपाल आम नेपाली जनताको भरोसायुक्त संगठनको रूपमा आफूलाई उभ्याउन सफल रहेको चर्चा गर्नुहुँदै यस संगठनले आजको अवस्थामा राष्ट्रिय सुरक्षाको साथै संयुक्त राष्ट्र संघीय शान्ति सुरक्षामा समेत खटिई उत्कृष्ट कार्य गर्न सफल रहेको बताउनुभयो।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल, नेपालले राष्ट्र, राष्ट्रियता र जनताका खातिर सदैव उच्च सतर्कताकासाथ जिम्मेवारी निर्वाह एवं उत्तरदायित्व बहन गरी प्रभावकारी ढंगले सुरक्षा व्यवस्था मिलाउन उत्प्रेरित रहेको तथा संगठनले कार्यक्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गरिरहेको उल्लेख गर्नुभयो।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले नेपाल सरकारको अभिभावकत्व तथा देश र देशवासी प्रतिको कर्तव्य, जिम्मेवारी, चिन्ता र चिन्तनले गर्दा संगठनले आफ्नो सेवा र सुरक्षाको क्षेत्रमा महŒवपूर्ण भूमिका निर्वाह गर्न सक्षम भएको चर्चा गर्नुभयो। उहाँले ‘समृद्ध नेपाल र सुखी नेपाली’का लागि आवश्यक सामाजिक सद्भाव बनाइराख्न र सुशासन कायम गर्न सबै सुरक्षा निकाय तथा सरोकालवाला निकायसँग सहकार्य गर्दै अगाडि बढ्न सशस्त्र प्रहरी बल, नेपाल प्रतिबद्ध रहेको उल्लेख गर्दै राष्ट्रसेवकले आफ्ना स्वार्थलाई थाती राखेर देश र जनताका लागि के दिन सकिन्छ भन्नेतर्फ केन्द्रित भई जिम्मेवारी निर्वाहमा तल्लीन रहनुपर्ने बताउनुभयो।