विराटनगर, (नेस)
मोरङको सुन्दरहरैंचामा सोमबार बिहान टिपरको ठक्करबाट एक ११ वर्षीया बालिकाको मृत्युपछि पूर्वाञ्चल टिपर व्यवसायी संघ प्रशासनविरुद्ध चरणवद्ध आन्दोलनमा जाने भएका छन्। मंगलबार मोरङको केराबारी गाउँपालिकामा बसेको संघको बैठकले विभिन्न बुदाँमा छलफल गर्दै प्रशासनविरुद्ध आन्दोलनमा अघि बढ्ने निर्णय गरेको संघका अध्यक्ष गोपाल कार्कीले जानकारी दिए।
बैठकमा बुधबार र विहीबार व्यवसायीहरूले सम्पूर्ण टिपर ग्यारेजमा थन्काउने निर्णय गरेका छन्। त्यसैगरी शुक्रबार विरोधस्वरूप व्यवसायीहरूले विराटचौकस्थित खोर्सानेबाट विराटनगरको रोडषेश चौकसम्म टिपर ¥यालीको आयोजना गर्ने भएका छन्।
बैठकले सो घटनामा प्रशासन मूक दर्शक भएको आरोप पनि लगाएको छ। बैठकबारे जानकारी दिदैं अध्यक्ष कार्कीले भने– ‘सुरक्षा निकायले घटनालाई नियन्त्रणमा लिन नसक्दा व्यवसायीले समेत करोडौंको क्षति ब्यहोर्नुपरेको छ। त्यसको क्षतिपूर्तिका लागि आगजनीका क्रममा देखिएका व्यक्तिलाई पक्राउ गरिनुपर्छ।’ व्यवसायीहरूले ६ वटा टिपरमा गरिएको आगजनीमासमेत सुरक्षा निकाय मौन बसेको आरोप लगाएका छन्।
सोमबार बिहान घटना भएको करिब डेढ घण्टापछि स्थानीयले टिपरमा आगो लगाउदाँसमेत सुरक्षाकर्मीले रोक्न प्रयास नगरेको आरोप उनीहरूले लगाएका हुन्। त्यसैगरी बिहान एक र अपरान्ह एक घण्टा टिपर सञ्चालनमा राखिएको रोकको कारण पनि दुर्घटना हुनसक्नेतर्फ व्यवसायीको अनुमान रहेको छ।











प्रतिक्रिया