सरिता चलाउने, सल्यान
सल्यानको एक माध्यमिक विद्यालयमा विगत चार महिनादेखि तीन विषयको अध्ययन अध्यापन नभएको भन्दै विद्यार्थीले विद्यालयमा तालाबन्दी गरेका छन्। जिल्लाको कुमाख गाउँपालिकामा रहेको बुद्घजनकल्याण माध्यमिक विद्यालय विगत चार महिना यता विषयगत शिक्षक नहँुदा पठनपाठनमा समस्या भएको विद्यार्थीले गुनासो गरेका छन्।
कात्तिक महिनादेखि यता कक्षा ९ र कक्षा १०को विज्ञान विषयको पढाइ ठप्प हुँदा पठनपाठनमा समस्या भएको कक्षा १० मा अध्ययनरत छात्र विनोद बुढाथोकीले बताए। चार महिना बितिसक्दासमेत शिक्षकको पदपूूर्ति नहुँदा विज्ञान विषयको कोर्स अधुरै रहेको उनले गुनासो गरेका छन्। चार महिना बितिसक्दा पनि विज्ञानजस्तो विषय पढाइ नभएका कारण बाध्य भएर तालाबन्दी गर्नुपरेको उनले बताए।
यस्तै ८ कक्षाको विज्ञान, गणित र पेशाव्यवसाय विषयको कोर्स पनि चार महिनादेखि बन्द भएको कक्षा ८ मा अध्ययनरत छात्र दीपक केसीले जानकारी दिएका छन्। विगत चार महिनादेखि शिक्षक सरुवा भएर गएको र कोही घर विदामा गएका शिक्षक पनि नफर्किएपछि ती विषयको अध्ययन गर्न समस्या भएको उनले गुनासो गरेका छन्।
वार्षिक परीक्षा आउन केही महिना मात्रै बाँकी छँदासमेत विद्यालयमा विषयगत शिक्षकको विकल्प नगरेको भन्दै तालाबन्दी गर्नुपरेको कक्षा ९मा अध्यनरत छात्र युवराज खड्काले जानकारी दिएका छन्। उनले भने– ‘हामीले विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिसंग पटक–पटक पढाइ सञ्चालन गर्न शिक्षकको माग गर्यो तर अहिलेसम्म पनि सुनुवाइ भएन।’ हामीले पढ्न पाउने अधिकारबाटै वञ्चित हुनुपर्दासमेत कसैले वास्ता गरेन ।त्यसैले बाध्य भएर विद्यालयमा तालाबन्दी गर्नु परेको हो।’
विद्यालयमा तत्काल शिक्षकको पदपूर्ति गर्नुपर्ने र नियमित सबै विषयको कक्षा सञ्चालन गर्ने लिखित सहमति नहुँदासम्म तालाबन्दी नखोलिने लगायतका ९ बुँदे माग आफूहरूको रहेको खड्काले बताए।











प्रतिक्रिया