सुदूरपश्चिम प्रदेशका ९ स्थानीय तह बैंक विहीन

0
Shares

विमल विष्ट, डोटी ।
सुदूरपश्चिमका ८८ ओटा स्थानीय तहहरु मध्ये ९ ओटा स्थानीय तहहरुमा बैंक स्थापना हुन बाँकी रहेको छ । प्रदेशको अर्थ मन्त्रालयले नागरिकको वित्तीय संस्थासँग पहुँच भन्ने कार्याक्रम संचालन गरेपनि सबै स्थानीय तहहरुमा बैंक स्थापना हुन नसकेको हो ।

सुदूरपश्चिमका ८८ ओटा स्थानीय तहहरु मध्ये नेपाल राष्ट्र बैंकका अनुसार ७९ ओटा स्थानीय तहहरुमा बैंङ स्थापना भई कारोबार सुरु गरिरहेका छन् । स्थानीय स्तरमा स्थानीय सरकार आएको डेढ वर्ष हुदापनि सुदूरपश्चिमका सबै नागरिक वित्तीय संस्थाको पहुँचमा पुग्न सकेका छैनन् । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले सबै स्थानीय तहहरुलाई बैंक स्थापना गर्न निर्देशन पनि दिईसकेको छ भने प्रत्येक नागरिकको पहुच वित्तिय संस्थामा भन्ने कार्याक्रम पनि संचालन गरि रहेको छ । तर स्थानीय सरकार गठन भएको डेढ वर्ष हँुदा पनि सबै स्थानीय तहहरुमा बैंक स्थापना हुन नसक्दा विकट क्षेत्रका वासिन्दाहरु समस्यामा छन् ।

स्थानीय सरकार आएको डेढ वर्ष हुँदा पनि सुदूरपश्चिमका सबै स्थानीय तहहरुमा बंैक तथा वित्तीय संस्थाहरु स्थापना हुन नसकेका हुन् । तराईका दुई जिल्ला कैलाली, कञ्चनपुर र पहाडी दुई जिल्ला दार्चुला र बैतडीका सबै स्थानीय तहहरुमा बैंक स्थापना भएका छन् ।

बाजुराका तीन स्थानीय तह पाण्डवगुफा, स्वामीकार्तिक र गौमुल बझाङको काडाँ र थलारा, अछामको चौरपाटी र मेल्लेख, डोटीको बडीकेदार र डडेल्धुराको नवदुर्गामा कुनैपनि बैक स्थापना नभएको नेपाल राष्ट्र बैंक धनगढीका उप निर्देशक मनोज पोखरेलले बताए । अहिले बैंक स्थापना गर्दा अनुमति नलिई शाखा स्थापना गरेर राष्ट्र बैंकलाई जानकारी मात्र गराउनु पर्ने व्यवस्था रहेको छ । केही स्थानमा बैंक तथा वित्तीय संघ संस्थाहरुको लागि चाहिने पुर्वाधार समेत नपुगेकाले स्थापना गर्न नसकिएको स्थानीय तहहरुले बताउने गरेका छन् ।

सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले सबै नागरिकको पहुँच बैंक तथा वित्तीय संस्थाहरुमा पु¥याउनको लागि कार्यक्रम सञ्चालन गरिरहेको छ भने आफ्नो बजेट वक्तव्यमा पनि सबै स्थानीय तहहरुमा बैंक तथा वित्तीय संस्था अनिवार्य रुपमा स्थापना गर्नुपर्ने उल्लेख गरेको छ । स्थापना हुने बैंकहरु गाउँमा जान नमान्दा झन ढिलाई भईरहेको हो । पुर्वाधार पुगेका स्थानमा पनि बैंकहरु आफ्नो बोर्ड झुण्डाएर सुरक्षा गार्ड समेत राखेका छन तर बैंकिङ कारोबार भने सुरु गरेका छैनन् ।

अहिलेसम्म सुदूरपश्चिममा ५ सय २२ ओटा बैंक तथा वित्तीय संस्थाहरुले सेवा दिईरहेका छन भने सबैभन्दा बढी कैलालीमा २ सय ३३ र सबैभन्दा कम बाजुरामा १८ ओटा वित्तीय संस्थाहरु स्थापना भएका छन् । बैंक तथा वित्तीय संस्था स्थापनाका लागि न्युनतम पुर्वाधार उचित संरचना, विद्युत, प्रहरी चौकी र ईन्टरनेटको भने सुविधा पुगेको हुनुपर्ने नियम भएका कारण बैंक स्थापना हुन नसकेको बताईएको छ ।