विमल विष्ट, डोटी ।
जिल्लाको जोरायल गाउँपालिका १ घण्टेश्वरकी इन्द्रा ओली अचेल निकै खुसी हुनुहुन्छ । २ बर्ष पहिलासम्म बारीमा सिस्नो उम्रदा लौराले चुटेर फाल्ने इन्द्रा अहिले त्यही सिस्नोको संरक्षणमा जुट्नु भएको छ । समुदायमा सिस्नुलाई गरीवले खाने वस्तु हो भनेर हेला गरिन्थ्यो । बहुसरोकारवाला वन कार्यक्रमले समुदायलाई सिस्नुको महत्व बुझाएपछि सिस्नु संरक्षणमा जुटेको ईन्दाले बताउनुभयो ।
छुँदा पनि पोल्ने सिस्नो यत्तीको उपयोगी होला भन्ने कल्पना समेत नगरेकी इन्द्राले हिजोआज प्रति किलो आलो सिस्नो ४० रुपैँयामा बेच्न थाल्नु भएको छ । घण्टेश्वरकी इन्द्रा सिस्नोको उपयोगीता देखेर दंग परेजस्तै डोटीकै केआईसिंह गाउँपालिका ५ रानागाउँकी भागा नेपाली सालको पातको उपयोगीता देखेर मख्ख पर्नु हुन्छ । सालको पात प्राङ्गारिक मल बनाउन मात्र उपयोग हुन्छ भन्ने ठान्नु भएकी भागाले सालको पात बिक्री हुन थालेपछी पातको थप उपयोगीता बारे जानकारी पाउनु भएको छ ।
भागा वस्तुभाउ चराउन जँगलमा जाँदा पनि सालको पात सँकलनमा लागी रहनुहुन्छ । उहाँ भन्नुहुन्छ, “जंगलमा गोरु चराउन जाँदा, सालको पात टिपेर आम्दानी पनी गरिरहेकी छु । दिनमा १०÷१५ किलो पात संकलन गर्न सकिन्छ प्रति किलो १५ रुपैँयामा बिक्री हुन्छ ।”
इन्द्रा र भागा मात्रै होईन नयाँ प्रबिधीको प्रयोग गरेर स्थानीय स्रोतसाधन बाटै राम्रो आम्दानी लिन सकिने भए पछि उहाँहरु जस्तै धेरै महिला खुसी भएका छन् । फर्वाड नेपाल र ग्रामिण बिकास केन्द्रको साझेदारीमा वनमा आधारित बहुँ सरोकारवाल वन कार्यक्रम अन्तरगत डोटी जिल्ला मै पहिलो पटक सिस्नो प्रशोधन र दुनाटपरी उद्योग सुरु भएका हुन ।
केआईसिंह गाउँपालिकाको रानागाउँ र जोरायल गाउँपालिकाका २ छत्तिवनमा दुनाटपरी उद्योग, त्यस्तै सोहि गाउँपालिकाको सरस्वतिनगर, घण्टेश्वर र सायलगाउँपालिकाको डौडमा सिस्नु प्रशोधन उद्योग र बडीकेदार गाउँपालिका १ बर्छैन , जोरायलको छत्तिवनमा दुनाटपरी उद्योग सञ्चालनमा रहेका छन् । जिल्लाकै ग्रामिण भेगमा साना रुपमा सुरु भएका उद्योगले सानै परिमाणमा भए पनि आम्दानी सुरु गरेका महिलाहरु बहुँ सरोकारवाला कार्यक्रम देशबाटै बाहिरिए पछि दुःखी पनि भएका छन् ।
नमुना सिस्नो प्रशोधन उद्योगकी सञ्चालक ईन्द्र ओली भन्नुहुन्छ, “कामको सुरुवात राम्रै भएको छ , तर यसलाई निरन्तरता दिन सक्ने र दिगोपनामा हाम्रा लागि चुनौती छ । कार्यक्रम न बाहिरीएको भए धेरै राम्रो गर्न सकिन्थ्यो ।” सन २०२२ सम्म चल्ने भनिएको उक्त कार्यक्रम हाल नेपालबाटै बाहिरीएको छ ।











प्रतिक्रिया