नेपाल समाचारपत्र, काठमाडौं । बुधवारको हिउँदेभरीको प्रभावले जमिन भिजेपछि विहान सबेरै फैलिएको बाक्लो भुईँ कुहिरोले विहीवारको हवाई सेवा प्रभावित भएको छ । भुईँ कुहिरोले हवाई भिजिबिलिटी घटाएपछि काठमाडौंबाट हुने हवाई सेवा प्रत्यक्ष प्रभावित भएको हो ।
बाक्लो कुहिरोका कारण विहीवारका सबै माउन्टेन प्लाईट रद्द भएका छन् भने आन्तरिकतर्फ विहानका लागि तय भएका उडानपनि प्रभावित भए ।
विमानस्थल व्रिफिङ शाखाका अनुसार विहीवारका लागि विभिन्न हवाई कम्पनीका ८ वटा माउन्टेन फ्लाईटको सूची तय भएकोमा सबै रद्द भएका थिए । बुद्ध, यति, श्री र सिम्रिक एयरले हरेक दिन माउन्टेन फ्लाईट गर्दै आएकोमा विहिवारका लागि श्रीको भने पर्वतीय उडानको सूची नभएको व्रिफिङ शाखाका सिनियर अफिसर अमृत आचार्यले बताउनुभयो ।
मौसमले अन्तर्राष्ट्रिय उडान तर्फ खासै असर नगरेपनि आन्तरिक उडान प्रभावित भएको बताउँदै उहाँले भन्नुभयो–‘विहान १० बजेपछि मात्रै विमानस्थलको सेवा सहज रुपमा सुचारु भयो ।’ विहानका लागि पोखरा, लुक्ला लगायतका गन्तव्यमा तय भएका आन्तरिक उडान रद्द भएपछि दिनभरका अन्य फ्लाईट डिले भएका थिए ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार विहान साढे ५ बजेपछि सवत्र फैलिएको कुहिरोको प्रभावले करिव डेढ घन्टा विमानस्थल आसपासको हवाई भिजिविलिटी १ सय मिटर हाराहारीमा झरेको थियो ।
महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार ९ बजेपछि भिजिविलिटी १ किलोमिटर हाराहारीमा खुलेको थियो भने दिउँसो १२ बजे मौसम प्रष्ट खुलेपछि भिजिविलिटी ३ हजार ५ पुगेको थियो ।
विज्ञहरुका अनुसार १ किलोमिटर हाराहारारीको भिजिविलिटीमा विमान अवतरण गर्न मिलेपनि उडान गर्न सहज हुँदैन । विमानस्थलबाट जहाज सहज रुपमा उड्न २ हजार ५ सय हाराहारीको भिजिविलिटी आवश्यक हुन्छ । तर विमान स्थल आसपासको भौगोलिक अवस्थिती, विमानको मोडल, भारवहन क्षमता जस्ता कारणले भिजिविलिटी २ हजार ५ सय वा सो भन्दा माथि आवश्यक पर्ने विज्ञहरु बताउँछन् ।
भुइँ कुहिरोको प्रभाव आज शुक्रवार पनि दोहोरिने मौसमविद् कँडेलले बताउनुभयो । यसै वीच पश्चिमी वायुको असरले आज शुक्रवार पनि मुलुकका अधिकांश भेगको मौसम प्रभावित बन्ने भएको छ ।
कँडेलका अनुसार काठमाडौं उपत्यका सहित पूर्वी, मध्य र पश्चिमी भेगमा बुधवारझैं हल्का र मध्यमस्तरको वर्षासँगै उच्च भेगमा हिमपात दोहोरिने छ । पूर्वी भेगमा भोली शनिवार पनि मौसम प्रभावित रहने कँडेलले जानकारी दिनुभयो ।











प्रतिक्रिया