सर्वोच्चको मुख्य रजिष्ट्रारमा निरौला

0
Shares

काठमाडौं । सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा नृपध्वज निरौला नियुक्त भएका छन् । न्याय परिषदका सचिव निरौलालाई बढुवा गरी सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा पदस्थापन गरेकाे हो । यसअघिका मुख्य रजिष्ट्रारमा डा.राजन भट्टराई उच्च अदालतको न्यायाधीश नियुक्त भएपछि रिक्त रहेको स्थानमा निरौलालाई बढृुवा र पदस्थापन गरिएको हो ।

न्याय परिषद सचिवको हैसियतमा निरौलाले  लेखेको एउटा पत्रका कारण तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको अवकाश भएका थिए । न्याय परिषद सचिवको पत्रले परिषदका अध्यक्षसमेत रहने प्रधानन्यायाधीशको जागिर गएको नेपालको न्यायिक इतिहासमै पहिलो घटना थियो । उनले शैक्षिक प्रमाणपत्रलाई आधार मान्दै पराजुलीको कार्यकाल किटान गरी पत्र लेखेका थिए ।

यसैवीच प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको अध्यक्षतामा बसेको न्याय सेवा आयोगको बैठकले न्याय परिषद सचिवका देवेन्द्र ढकाललाई बढुवा गरेको छ । त्यसैगरी नवनियुक्त उच्च अदालतका न्यायाधीश भट्टराई र न्यायिक प्रतिष्ठानका कार्यकारी निर्देशक तपबहादुर मगरले बुधबारै पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।