करिडोर निर्माणमा जनप्रतिनिधीदेखि प्रशासनसम्मको मिलोमतोः कांग्रेस

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर ।
नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्य समितिले भक्तपुरको हनुमन्ते खोला फर्काउने नाममा भूमाफियाले स्थानीय जग्गा धनिलाई त्रसित बनाउने काम गरेको भन्दै बिरोध जनाएको छ । समितिले भक्तपुर जिल्ला पार्टी कार्यालयमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टी प्रचार विभाग प्रमुख केदार खड्काले हनुमन्ते करिडोर निर्माणका नाममा कहिले खोला फर्काउने त कहिले खोलाको सिमांकन गर्ने भन्दै जग्गा धनिलाई त्रसित बनाउने काम गरेको आरोप लगाउनुभयो ।

पार्टी सभापति दूर्लभ थापाद्धारा हस्ताक्षरित प्रेस विज्ञप्ती जारी गर्दै हनुमन्ते करिडोर निर्माणका नाममा भूमाफियाहरुले पार्टी सभापतिको नाम समेत जोडेर प्रचार गरेको भन्दै आपत्ति जनाएको छ । हनुमन्तेबाट जनप्रतिनिधीले करोडौ अपचलन गरेको आफूसंग प्रमाण भएको दाबी गर्दै हनुमन्तेमा भूमाफियालाई प्रशासनको समेत साथ रहेको काँग्रेस सभापति थापाले आरोप लगाउनुभएको छ ।

त्यस्तै हनुमन्ते नदी र अरनिको राजमार्ग सरसफाईमा राजनीतिक आवरण जोडेर प्रचार गरेको आरोप लगाउँदै बिज्ञप्ती मार्फत सभापति थापाले त्यस्ता कार्यमा आफ्नो साथ र समर्थन नरहने बताउनुभयो । नेपाली काँग्रेसले जिल्लाका चारवटै नगरपालिकाले दलहरुसंग सुझाब नलिई एकलौटी ढंगले बिभिन्न सेवामा कर एवं राजस्वको दायरा बृद्धि गरेको भन्दै तत्काल बृद्धि गरिएको कर घटाउन माग गरेको छ ।
सरकारसंग काँग्रेसले प्रदेश तहको निर्वाचनबाट भक्तपुर क्षेत्र नं. १ (क) बाट निर्वाचित जनप्रतिनिधिको निधन भई रिक्त रहेको उक्त स्थानमा निर्वाचनको मिति तोक्न र निर्वाचनको व्यबस्था गर्न माग गरेको छ ।

स्थानीय सरकारले एकढंग रुपमा काम गरेको आरोप लगाउदै काँग्रेसले अन्य दलहरुसंग समन्वय नगरी गरेको कुनै पनि निर्णयलाई नमान्ने र दलहरुसंग समन्वय गरेर मात्रै निर्णय लिन सुझाब दिएको कांग्रस नेता गोकुल शर्माले बताउनुभयो । काँग्रेसले देशमा भईरहेको हत्या, हिसा, सामाजिक असुरक्षा, मंहगी विरुद्ध बिरोध कार्यक्रम आयोजना गर्ने भएको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।