ठोरीमा हात्तीको ताण्डवले स्थानीय हैरान

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।
चितवन र पर्सा राष्ट्रिय निकुञ्जसँग जोडिएको पर्साको ठोरी गाउँपालिका हात्तीले आतंक मच्चाउन थालेपछि स्थानीयहरु त्रसित भएका छन् ।
लगातार रातको समयमा जंगली हात्तीले आतंक मच्चाउन थालेपछि स्थानीयहरुमा त्रास छाएको हो । दुई दिनको अन्तरालमा ठोरीमा जंगली हात्तीले आधार दर्जन घरमा क्षति पु¥याएको स्थानीयहरुले जानकारी दिएका छन् । रातको समयमा बस्तीमा पसेको जंगली हात्तीले स्थानीय होमनाथ अधिकारी, चन्द्रबहादुर सुनारी र लालकाजी गुरुङको घरमा क्षति र्पुयाएको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ ।

हात्तीले घरमा रहेको चामल, पिठो र अन्य खाद्यान्न सामाग्रीहरु खाएर र छरेर नष्ट गरिदिएको पीडितहरुले बताएका छन् । हात्तीले ती घरहरुमा अन्दाजी १ लाख २० हजार रुपैयाँ बराबरको क्षति र्पुयाएको अनुमान गरिएको छ ।जंगली हात्ती मानव बस्ती पसेको जानकारी अगाडि नै पाएका कारण स्थानीयले भने सुरक्षित स्थानमा भागेर ज्यान जोगाएका थिए ।

हात्ती बस्तीमा पसेका कारण स्थानीय रातभर जाग्राम बस्न बाध्य भएका थिए । स्थानीय र प्रहरी मिलेर राति होहल्ला गर्दै हात्ती लखेट्ने प्रयास गरेको भए पनि रातभर जंगली हात्ती गाउँमै बसेको थियो ।हातमा लौरो, घरेलु हतियार बोकेर टिनको डब्बा ठटाउनुको साथै राँको बालेर होहल्ला गर्दासमेत हात्ती रातभर गाउँमै बसेको गाउँपालिका अध्यक्ष पिएल श्रेष्ठले जानकारी दिए । जंगली हात्ती नियन्त्रणका लागि सरकारी स्तरबाट प्रयास नभएको भन्दै ठोरीका स्थानीयहरुले आक्रोश पोखेका छन् ।