कांग्रेसद्धारा संसद बैठक लगातार अवरोध

0
Shares

गंगा बराल, काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदको बैठक लगातार अवरोध गरेको छ । सोमबार पनि २ पटकसम्म अवरोध भएर मंगलबार ३ बजेका लागि बोलाइएको बैठक पनि चल्न सकेन ।

बैठक सुरु हुनेबित्तिकै कांग्रेस सांसदहरु उठेर विरोध गरेका थिए । कांग्रेस सांसदहरुले उठेर विरोध गरेपछि सभामुख कृष्णबहादुर महराले कांग्रेस सांसद प्रकाशमान सिंहलाई बोल्न दिनुभयो । सिंहले कांग्रेसका नेताहरु गिरीजाप्रसाद कोइरालाको नाममा तनहुँमा सञ्चालन गर्ने भनिएको गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास सञ्चालन केन्द्र र बाँकेमा सुशील कोइरालाका नाममा खोलिएको सुशील कोइराला क्यान्सर अस्पताल सञ्चालन प्रक्रिया रोकिएको भन्दै विरोध गर्नुभयो । सरकारले अरु ९ वटा अस्पताल बनाउने र सञ्चालन गर्ने निर्णय गरेपनि यी २ अस्पताल भने नबनाउने निर्णय गरेको थियो । यो विषयलाई लिएर कांग्रेसले यसअघि पनि आवाज उठाएको थियो ।

यसैकारण सोमबारको प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक पनि अवरोध भएको थियो । राष्ट्रियसभाको अर्को बैठक अगामी सोमबार बस्दैछ ।

कांग्रेसको नाराबाजीपछि बैठक १५ मिनेटलाई बैठक स्थगित गरिएको थियो । सभामुख कृष्णबहादुर महराले कांग्रेसले उठाएका विषय हिजो नै सरकारलाई ध्यानाकर्षण गराइसकेको भन्दै कांग्रेस सांसद्हरुलाई बस्न आग्रह गर्नुभएको थियो । तर कांग्रेस सांसदहरुले सरकारको निर्णय सच्याउनुपर्ने भन्दै आन्दोलन जारी राखे ।

सभामुखको कुरा नसुनी कांग्रेस सांसदहरु झन् उग्ररुपमा नाराबाजी गर्न थाले । विगतका दिनभन्दा कांग्रेस सांसदहरु मंगलबारको बैठकमा सरकारको चर्को विरोध गरेका थिए । उनीहरुले मर्यादापालकको पनि विरोध गरेका थिए । सोमबारको कार्यसूचीमा रहेका धेरैवटा विधेयक प्रस्तुत गर्ने तालिकालाई हटाएर मंगलबारको बैठकमा एउटामात्र विधेयक प्रस्तुत गर्ने र पारित गर्ने कार्यसूची रहेको थियो ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा शिक्षा , विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले प्रस्तुत गर्ने शिक्षा तथा स्वास्थ्य समितिको प्रतिबेदनसहितको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ पारित गर्ने कार्यसूची रहेको थियो ।