राम धामी, डडेल्धुरा ।
डडेल्धुराका छुट्टाछुट्टै स्थानमा चट्याङ लागेर मंगलबार बिहान दुईजनाको मृत्यु भएकोछ । चट्याङ लागेर चार जना घाइते भएका छन् ।
मृत्यु हुनेमा गन्याधुरा गाउँपालिका–५ गनेडा गाउँकी १२ वर्षीया रोशनी देउवा र आलिताल गाउँपालिका–३ बागथलाका ३० वर्षीय हर्कबहादुर थापा रहेका छन् ।
देउवाको उपचारका क्रममा डडेल्धुरास्थित उपक्षेत्रीय अस्पताल र थापाको घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए ।
भुवनेश्वरी माविमा पढिरहेको अवस्थामा एक्कासी चट्याङ लागेर १३ वर्षीया रोशनी गम्भीर घाइते भएको र जिल्ला सदरमुकामस्थित उपक्षेत्रीय अस्पतालमा उनको उपचारका क्रममा निधन भएको प्रहरी नायव उपरीक्षक केसीले बताए ।
यस्तै आलिताल गाउँपालिकाकै वडा नं ५ भित्रीसैनमा पनि चट्याङ लागेर चार जना घाइते भएका छन् । घाइते हुनेमा मानबहादुर विष्ट, गोमती, मनिषा भण्डारी र हरिना भण्डारी विष्ट रहेका छन् । चारै जनालाई उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पताल लगिएको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया