काठमाडौ प्रहरीको अत्याधुनिक नागरिक सहायता कक्ष

0
Shares

काठमाडौ (नेस) । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले महानगरीय प्रहरी परिसर काठमाडौंस्थित नवनिर्मित नागरिक सहायता कक्षको आइतबार आयोजित एक कार्यक्रमबीच उदघाटन गर्नुभयो ।

महानिरीक्षक खनालले उक्त कक्ष निर्माण गरी प्रहरीलाई हस्तान्तरण गर्नुहुने नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गाना, काठमाडौं परिसर मातहतका नागरिक सहायता कक्षमा निःशुल्क वाईफाई जडान गरी सहयोग गर्ने सुविसु केवल नेट प्रालि, परिसरस्थित नागरिक सहायता कक्षमा आवश्यक फर्निचर लगायत सहयोग गर्ने सामाजिक संस्थाहरु विश्वास नेपाल र संरक्षक समूह नेपालका प्रतिनिधिलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले समुदाय–प्रहरी साझेदारी अवधारणा अनुसार सहायता कक्ष निर्माण गरिएको उल्लेख गर्दै पीडितमैत्री सेवा प्रदान गर्ने उद्देश्यमा यस्ता कक्षहरुले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

साइबर सुरक्षा, लागूऔषध दुब्र्यसन, महिला हिंसा जस्ता सामाजिक अपराध न्यूनिकरणका लागि प्रहरीको मात्रै प्रयासले सफल हुन नसक्ने बताउँदै प्रहरी महानिरीक्षक खनालले साझेदारी कार्यक्रम लागू भएपछि प्रहरीलाई समुदायबाट उल्लासमय रुपमा सहयोग प्राप्त भएको बताउनुभयो ।

काठमाडौं देशको राजधानी भएकोले यहाँ हुन सक्ने गुण्डागर्दी, आर्थिक अपराध, मानव बेचबिखन, लुकेका अपराध लगायतलाई जरैदेखि निर्मूल पार्न नेपाल प्रहरी तत्पर रही काम गर्दै आएको उल्लेख गर्दै यसका लागि नागरिक समाज तथा सरोकारवाला अन्य निकायले समेत आवश्यक सहयोग गरिरहेको उहाँले बताउनुभयो ।

सो अवसरमा काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले शुभकामना मन्तव्य व्यक्त गर्दै केन्द्रदेखि टोलटोल समेटन सक्ने गरी ल्याइएको समुदाय –प्रहरी साझेदारी अवधारणाले राज्य र नागरिकबीच सेतुको रुपमा कार्य गरेको चर्चा गर्नुभयो ।
कूल १९ लाख ५० हजार रुपैयाँको लागतमा नेपाल बंगलादेश बैंकले निर्माण गरेको उक्त सहायता कक्ष महानगरीय प्रहरी परिसर काठमाडौंलाई हस्तान्तरण गरिएको हो ।

यसैगरी कार्यक्रममा काठमाडौं महानगरपालिका, सानिमा बैंक र जनता बैंकद्वारा निर्माण गरिएका समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तर्गत विद्यालय सम्पर्क कार्यक्रम, घरदैलो कार्यक्रम लगायतका लागि जनचेतनामूलक सन्देश दिने ब्रोसर तथा स्टीकर प्रहरी महानिरीक्षक खनाललाई हस्तान्तरण समेत गरिएको थियो ।

सामुदायिक सेवा केन्द्र टुडाँलदेवीका सल्लाहकार अच्युतप्रसाद सापकोटाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार लामाले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

नागरिक सहायता कक्षमा सचेतनामूलक श्रव्यदृष्यको प्रशारण, विभिन्न निवेदन निःशुल्क वितरण, तातो तथा चिसो पिउने पानीको व्यवस्था, फ्रि वाईफाईको व्यवस्था, विभिन्न सचेतनामूलक सामग्री वितरण, प्रहरी प्रकाशन र पत्रपत्रिका, नागरिक सहयोग तथा समन्वय कर्मचारीहरुबाट नागरिकलाई परामर्श समेतका सेवा उपलब्ध हुने उक्त अवसरमा जानकारी गराइयो ।