सीताराम चौधरी, कृष्णनगर ।
मानव बेचबिखन तथा लैङ्गिक हिंसा विरुद्ध सीमाक्षेत्रमा कार्यरत केआई नेपालले विगत तीन वर्षमा १२ हजार ४सय ६७ किशोरीको उद्धार गरेको छ ।
केआई नेपालले तीन वर्षमा ती किशोरीहरुको उद्धार गरेको प्रतिवेदन सार्वजनिक गरेको हो । संस्थाले ३ सय ६१ किशोरीलाई उद्धार पश्चात परिवारमा पुनर्मिलन गराएको जिल्ला संयोजक केसर विश्वकर्माले जानकारी दिनुभयो । यस्तै २सय २६ जनालाई आपतकालिन सुरक्षित आवास सेवा प्रदान गरिएको विश्वकर्माले बताउनुभयो । उद्धार गरिएकामध्ये ३० जनालाई चितवनस्थित सुरक्षित आवास गृहमा सीप विकास तालिममा सहभागी गराएका छौं –उहाँले भन्नुभयो ।
संस्थाले मानव बेचबिखन सम्बन्धी ९ वटा मुद्धाका ११ विचौलिया विरुद्ध किटानी जाहेरी दिएको बताइएको छ । मानव बेचबिखन तथा ओसारपसारमा परेका १४ प्रभावितले किटानी जाहेरी दिएका हुन् । जाहेरी दिएको मुद्धामध्ये जिल्ला अदालतले ७ वटा मुद्धाका विचौलियालाई १देखि १० वर्ष सम्मको जेल सजायको फैसला गरिसकेको संयोजक विश्वकर्माको भनाई छ ।
विगत १२ वर्षदेखि कपिलवस्तु जिल्लाको कृष्णनगर नाकालाई केन्द्रविन्दु बनाई मानव बेचबिखन विरुद्ध सीमा निगरानी, सूचना सम्प्रेषण, परामर्श तथा उद्धारका कार्य गर्दै आएको संयोजक विश्वकर्माले जनाउनुभयो ।
तीन वर्षको तथ्यांकका आधारमा १५ देखि २५ वर्ष उमेर समूहका महिला तथा किशोरीहरु बेचबिखनको उच्च जोखिममा रहेको पाइएको उहाँले बताउनुभयो । आर्थिक अभाव, शिक्षाबाट बञ्चित, बढ्दो बेरोजगारी, प्रविधिको दुरुपयोग तथा बेचबिखनको बदलिँदो स्वरुपका कारण महिला तथा किशोरीहरु बेचबिखनको उच्च जोखिममा रहेको विश्वकर्माले जनाउनुभयो ।
बेचबिखनमा कमी ल्याउन केआईको सत्रियता
केआई नेपालले मानव बेचबिखन तथा लैङ्गिक हिंसाका घटनामा कमी ल्याउन विभिन्न कार्यक्रम गर्दै आएको छ । समुदाय विकास कार्यक्रम अन्तर्गत संस्थाले किशोरीहरुलाई सक्षम तथा आत्मनिर्भर बनाउन समुदाय स्तरमा सचेतनामूलक र आयमूलक कार्यक्रम संचालन गर्दै आएको हो ।

विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुसँगको प्रभावकारी समन्वय र सहकार्य मार्फत कार्यक्रमलाई अघि बढाएको केआई नेपालका जिल्ला संयोजक केसर विश्वकर्माले बताएका छन् । के.आई.एन.ले जिल्लाको बुद्धभूमि नगरपालिकाको टिक्करमा चेली कृषि सहकारीमार्फत महिलाहरुलाई संगठित पारेको छ । हाल सहकारीमा ४सय ६ जना महिलाहरु आवद्ध छन् ।
सहकारीमार्फत उनीहरु समुदायमा संचालित कानुनी साक्षरता तालिम, आयमूलक र व्यवसायमूलक तालिमहरु संचालन गर्दै आएका छन् । यस्तै सहकारीमा संचालन हुने सचेतनामूलक कार्यक्रममार्फत मानव बेचबिखनका घटनामा न्युनीकरण हुँदै के.आई.एन.को दाबी छ । सहकारीमार्फत संचालन हुने विभिन्न कार्यक्रमहरुको माध्यमबाट महिलाहरु सक्षम र आत्मनिर्भर समेत बनेको के.आई.एन.का जिल्ला संयोजक विश्वकर्माले बताउनुभयो ।
संस्थाका कर्मचारीहरुको सक्रियता, स्थानीय तह, प्रहरी प्रशासन र समुदायका व्यक्तित्वहरुको साथ, सहयोग र सहकार्यले उपलब्धी हासिल गर्न सफल भएको जिल्ला संयोजक विश्वकर्माले अवगत गराउनुभयो ।











प्रतिक्रिया