भुसाललाई शब्दयात्रा सम्मान प्रथम गायिकाको सालिक अनावरण

0
Shares

शब्दयात्रा प्रकाशनले २०७५ सालको शब्दयात्रा महिला प्रतिभा सम्मानबाट अभिनेत्री वसुन्धरा भुसाललाई र कविताकाव्य सम्मानबाट कवि तथा गीतकार कालिप्रसाद रिजाललाई सम्मानित गर्ने भएको छ। आगामी माघ १५ गते मंगलबार काभ्रेको बनेपामा आयोजना गरिने समारोहमा प्रमुख अतिथि पँर्वप्रधानन्यायाधीश श्रीमती सुशीला कार्कीबाट उनीहरूलाई सम्मान गरिने भएको हो।

शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीका अनुसार उनीहरूका साथमा समालोचना सम्मानबाट समालोचक डा. वासुदेव त्रिपाठी, अनुसन्धान सम्मानबाट अनुसन्धाता डा. राजेश गौतम, विज्ञानप्रविधि सम्मानबाट वैज्ञानिक प्रा. सुरेशराज चालिसे र बालसाहित्य सम्मानबाट बालसाहित्यकार विश्वम्भर चञ्चललाई पनि सम्मानित गरिनेछ।


यसैबीच प्रकाशनले नेपाली भाषाको गीत पहिलोपटक रेकर्ड गर्ने गायिका मेलवादेवी गुरुङको अर्धकदको सालिक काभ्रेको बनेपामा स्थापना गरी अनावरण गराएको छ। उक्त सालिक काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति डा. सुरेशराज शर्माले अनावरण गरेका हुन्। ओखलढुंगाको रुम्जाटारमा जन्मिएकी मेलवादेवी गुरुङले कलकत्ताको हिज मास्टर्स भ्वाइसबाट पहिलोपटक नेपाली गीत रेकर्ड गराएकी थिइन्। सवारी मेरो रेलैमा र न घरलाई घर कहिन्छलगायतका उनका गीतहरू अझै पनि चर्चित छन्। उनी प्रथम महिला गीतकार र प्रथम महिला संगीतकारका रूपमा पनि सुपरिचित छिन्। उनका साथमा प्रथम शिक्षासेवी षडानन्द अधिकारी, प्रथम लोकतान्त्रिक पत्रकार देवीप्रसाद सापकोटा, राष्ट्रिय पुरस्कार प्राप्त प्रथम वैज्ञानिक कृष्णलाल अधिकारी र प्रथम साहित्यिक शहीद कृष्णलाल अधिकारीको पनि सालिक राखिएको शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले जानकारी गराए।