माघी महोत्सवको रौनकता

0
Shares

सीताराम चौधरी, कपिलवस्तु,
थारुहरुको महान पर्व माघी तथा नयाँ वर्षको शुरुवातसँगै विभिन्न ठाउँमा माघी मेला तथा महोत्सवको रौनकताले छाएको छ । जिल्लाका विभिन्न स्थानमा माघी महोत्सव सम्पन्न भइसकेका छन् भने जिल्लाको चन्द्रौटामा जिल्लास्तरीय माघी महोत्सवले बल्ल रौनकता लिएको छ ।

सोही क्रममा नवौं कपिलवस्तु माघी(खिचडी) महोत्सव एवं नयाँ वर्ष २०७५ जिल्लाको चन्द्रौटामा बुधबारदेखि शुरु भएको छ ।

‘हम्मन संस्कृति हम्मनके शान, पहिचान बचयना हम्मनके अभियान” मूल नाराका साथ प्रदर्शनीस्थलमा महोत्सव शुरु भएको हो । थारु भेषभूषा, भाषा, कला, संस्कृतिलाई प्रवद्र्धन गर्न थारु कल्याणकारिणीसभा कपिलवस्तुले थारु नयाँ वर्षको शुरुवातसँगै विगत ९ वर्षदेखि महोत्सवलाई निरन्तरता दिंदै आएको छ । विगतका वर्षहरुमा पूर्वका स्थानमा गर्दै आएको महोत्सवलाई यसवर्ष जिल्लाको पश्चिमी क्षेत्रको पर्यटन प्रवद्र्धन र कला संस्कृतिको जगेर्ना तथा थारु जातिको जातीय पहिचानका लागि चन्द्रौटामा महोत्सव आयोजना गरिएको महोत्सव संयोजक एवं थारु कल्याणकारिणी सभा कपिलवस्तुका अध्यक्ष उमाशंकर चौधरीले जानकारी दिनुभयो ।

बुधबारदेखि शुरु नवौं माघी महोत्सव प्रदेश ५ का भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले पालामा बत्ती बालेर उद्घाटन गर्नुभयो । महोत्सव उद्घाटन गर्दै मन्त्री बैजनाथ चौधरीले लोप हुँदै गएको थारु जातिको जातीय पहिचान जोगाउन पछिल्लो समय थारु अगुवा अग्रसर भएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले थारु जातीहरु आफ्नो संस्कृति, भेषभुषा, सीपकलाको जगेर्नामा संगठित भई अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा थारु कल्याणकारिणीसभा केन्द्रिय सदस्य जंजीरप्रसाद थारु, था.क.स. केन्द्रिय सदस्य सुमित्रा थारु, प्रदेशसभा सदस्य अर्जुन कुमार के.सी., प्रदेशसभा सदस्य भगवती भण्डारी, जिल्ला समन्वय समिति सहसंयोजक तारावती थारु, नेकपा प्रस्तावित जिल्ला अध्यक्ष झविलाल पोख्रेल, शिवराज नगरपालिका नगरप्रमुख नेत्रराज अधिकारी, विजयनगर गाउँपालिका अध्यक्ष गोपाल थापा, शिवराज नगर उपप्रमुख शिवकुमारी थारु, व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेल, नागरिक समाजका दोलख बहादुर पछाई थारु समुदायको संस्कृति जगेर्नामा हातेमालो गरी अगाडि बढ्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

माघ ४ गतेसम्म चल्ने महोत्सवमा थारु समुदायको खानपान, भेषभूषा, सीप कलाको प्रदर्शन गरिनेछ । झुमरा, झर्रा, सजनी, विरहनी, मयुर नाच, लट्ठी नाँच, रेकर्ड डान्स प्रतियोगिताका साथै राष्ट्रिय एवं स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ । माघी महोत्सवको पूर्वसन्ध्यामा थारु भेषभुषामा सजिएका थारु क्लब, समूहका युवायुवतीहरु हस्तकलाका सामग्रीसहित झाँकी ¥याली निकालिएको थियो ।