डम्पिङ्ग साइड बिनै कुस्माबजारको फोहोर ब्यबस्थापन गरिने

0
Shares

दुर्गाप्रसाद शर्मा, पर्वत
कुस्मा नगरपालिका भित्रको फोहोर संकलनका लागि केही महिना देखिको अबरोध हटेपछि नयाँ ब्यबस्थापन सहित फागुन देखि फोहोर संकलन गरिने भएको छ ।

कुस्मा बजारको फोहोरलाई डम्पिङ्ग साइड नचाहिने गरि फोहोर ब्यबस्थापन गर्नका लागि जग्गा सम्झौता भएका कारण फागुन देखि नयाँ ढंगले फोहोर ब्यबस्थापन हुने भएको छ । गएको भदौ देखि नै शुरु गर्ने सम्झौता भएपनि जग्गाको बिषयमा बिबाद कायम रहँदा समस्या भएको थियो भने महिना दिन सम्म कुस्माबजारको फोहोर उठ्न सकेको थिएन ।

कुस्मा नगरपालिका र लक्ष्मीनारायण निजी गुठीका बिचमा फोहोर ब्यबस्थापनका लागि जग्गा उपलब्ध गराउने सहमति भएको छ । गुठीका नाममा कुस्मा नगरपालिका वडा नं ४ घुम्ती नजिक रहेको १८ रोपनी जमिन भाडामा लिने सहमति भएको नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिनुभयो । ‘बाटो बनाउने र पुर्वाधारको बिकास गरि फागुनबाट नयाँ ढंगले फोहोर ब्यबस्थापन हुन्छ ।’ नगर प्रमुख जोशीले भन्नुभयो ‘पटक पटक फोहोर फाल्न भैरहेको अवरोध हुँदा फोहोर संकलनमा समेत समस्या भएकाले नयाँ बिकल्पमा गएका हौ ।’ फोहोर ब्यबापनका लागि सामुदायिक स्रोत तथा वातावरणीय बिकास केन्द्र(सेक्रेड नेपाल) लार्इी पाँच बर्षलाई जिम्मा दिइएको छ ।

कुस्मा बजारको फोहोर अहिले सम्म जंगल र नदी किनारमा फाल्ने अवस्था रहेको थियो भने कुहिने र नकुहिने फोहोर एकै ठाउँमा मिसाएर संकलन हुँदै आएको थियो । फागुन पछि भने घरमै कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै संकलन गर्ने ब्यबस्था गर्न लागिएको छ । घरघरमै छुट्टाछुट्टै संकलन गरिएको कुहिने र नकुहिने फोहोर ब्यबस्थापन गर्न लागिएको सिक्रेड नेपालका कार्यक्रम संयोजक टिकाराम भुसालले बताउनुभयो ।

‘अब कुहिने फोहोर र नकुहिने फोहोर छुट्टाएर मात्रै संकलन गरिन्छ’ उहाँले भन्नुभयो ‘ अब फोहोर पनि अलग अलग मात्रै उठाउँछौ, सबै मिसाएर फोहार नउठाउने निती रहन्छ’

घरघरबाट उठाएर ल्याएको फोहोर मध्ये कुहिनेबाट कम्पोष्ट मल उत्पादन गरिन्छ । यसरी उत्पादित मल फोहोर उत्पादक निशुल्क मल दिने योजना रहेको कार्यक्रम संयोजक भुसालले जानकारी दिनुभयो । यस्तो मल घरमै खान तरकारी उत्पादन गर्ने करेसाबारी र गमलमा प्रयोग गर्ने फोहोर उत्पादक उपभोक्तालाई निशुल्क दिने ब्यबस्था गरिने भएको छ । संकलित नकुहिने फोहोरलाई बर्गिकरण गरिन्छ । बिक्री हुने फोहोर बिक्री गर्ने र कतै बिक्री नुहने फोहोरलाई खाल्टो खनेर गाड्ने र बायुमण्डल प्रदुषण नहुने गरि जलाएर नष्ट गरिन्छ ।

यसरी फोहोर ब्यबस्थापन गर्दा जल, जमिन, जंगल र बायुमण्डल प्रदुषण नहुने गरि ब्यबस्थापन गरिने भुसालले बताउनुभयो । सफा कुस्माका लागि सामुहिक अभियानले बिगत १५ बर्ष देखि फोहोर संकलनको काम गरिरहेको छ । २०६० असोज देखि संकलनको काम गरेको अभियानले गत बर्ष नै ब्यबस्थापन गर्न नसकेर नगरपालिकालाई जिम्मा लगाउने निर्णय समेत गरेको थियो । अहिले तत्काल कुस्माका वडा नं ४,५,६,७,८ र ९ सम्मको फोहोर संकलन गरिने र बिस्तारै सबै वडामा कुहिने फोहोर वडा वडाबाट पनि संकलन गर्ने लक्ष्य राखिएको छ । अन्य वडामा महिनामा एक दिन गाडी पठाउने सोच रहेको भुसालको छ ।