रोशन पराजुली, हेटौंडा
हेटौंडा–६, चौघडास्थित वंशगोपाल माध्यमिक विद्यालयका एक छात्र हतारहतार घर जाँदै गरेका देखिए । प्रश्न गर्दा उनले जवाफ फर्काए–शौच गर्न । विद्यालयमा शौच गर्न पानीको अभाव भएका कारण घर जाँदै गरेको उनले बताए ।
मकवानपुरका उपमहानगरदेखि गाउँपालिकासम्मका सामुदायिक विद्यालयमा शौचालय निर्माण गरिएका छन् । सरकारी तथा गैरसरकारी संस्थाको आर्थिक र भौतिक सहयोगमा शौचालयहरु बनेका हुन् । तर, ती शौचालय प्रयोगविहीन झैं छन् ।
विद्यालय गएका विद्यार्थी विद्यालयको शौचालय छाडेर खोलाखोल्सी र जंगलतिर शौच गर्न बाध्य छन् । विभिन्न ठाउँलाई खुला दिसामुक्त घोषणा गरिएसँगै विद्यालयमा शौचालय निर्माण गर्ने क्रम व्यापक भएको हो । तर, पानीको समुचित व्यबस्था नगरी हचुवाका भरमा दिसामुक्त अभियान चलाइँदा विद्यार्थीले समस्या भोग्नुपरेका गुनासा थुप्रै छन् ।
मनहरी गाउँपालिकामा रहेको पशुपतिनाथ माध्यमिक विद्यालयको कक्षा–९ मा अध्ययनरत् सुरक्षा रेग्मी विद्यालयमा शौचालयकै पिरले पढ्न जान मन लगाउँदिनन् । उनी भन्छिन्–पानीको समस्या छ । ‘महिनावारि भएको बेला त झन् विद्यालय सम्झिनै चाहन्नँ,’ उनले समस्या सुनाइन्–पानीकै कारण खोलातिर जान बाध्य छौं । त्यहाँ शौचालय त छन् तर खुला ठाउँमा लाजै पचाएर दिशापिसाब गर्नु रहर नभएर बाध्यता भएको बताउँदै उनले भनिन्–पानीको व्यबस्था गरेर प्रयोग गर्नसक्ने बनाइनुपर्छ ।
उनी भन्छिन्–पानी पियो भने पिसाब लाग्छ, ठाउँ छैन, त्यसैले तिर्खा लागे पनि सहनुपर्छ । पर्याप्त शौचालय छैन । भएका पनि पानी नभएको र ढोकाको चुकुलसमेत नलाग्ने खालका छन् ।
विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्यका अनुसार विद्यालयमा पाँच सयको हाराहारीमा विद्यार्थी छन् । विद्यार्थीको संख्याअनुसार क्षमतामा शौचालय छैन । पानीका कारण विद्यार्थीमात्र होइन, शिक्षक पनि खोलातिर जानुपर्ने अबस्था आउने गरेको प्रअ आचार्यले गुनासो गर्नुभयो । पानीको अभावका करण शौचालय राम्रोसँग प्रयोगमा आउन नसकेको आचार्यको भनाइ छ ।
हेटौंडा—२ मा रहेको सिद्धार्थ माविको कक्षा–९ मा अध्ययनरत् एलिसा लामाको पनि उस्तै समस्या छ । ‘कहिले त लाइन बस्दाबस्दै कक्षा नै छुट्छ,’ उनले भनिन् । थाहानगरका अधिकांश विद्यालयमा शौचालय छन् । तर, त्यस क्षेत्रमा पानी अभावमा अधिकांश विद्यालयका शौचालय राम्ररी सञ्चालनमा आउन सकेका छैनन् । वर्षाैंदेखि विद्यालयमा पानीको समस्या उस्तै छ ।
थाहानगर–७ मा रहेको सुन्दरीदेवी माविको कक्षा–१० मा अध्ययनरत् कौशिला ढकाल भन्छिन्–शौचालयको समस्या नियमितरुपमा भोग्दै आएका छौं । ‘शौचालय प्रयोगका लागि पानीको व्यबस्था छैन,’ उनी भन्छिन्–साह्रै आपत् पर्छ ।
प्रधानाध्यापक प्रतापसिंं गोलेका अनुसार उक्त विद्यालयमा चार सय ६५ जनाको हाराहारीमा विद्यार्थी छन्, शौचालय दुईवटा । छात्र र छात्राका लागि एक÷एक । छात्राको महिनावारिका लागि सञ्चालन गरिएको शौचालय हाल बन्द अबस्थामा रहेका कारण विद्यार्थीलाई गाह्रो परेको उहाँले बताउनुभयो । छात्राले महिनावारि भएको बेलामा प्रयोग गरेको प्याड डस्टबिनमा फाल्ने गरेका छन् ।
थाहानगर–८ मा रहेको इन्द्रायणी माविको कक्षा–९ मा अध्ययनरत् विशाल अर्याल भन्छन्–विद्यालयमा पढाइको वातावरणमात्र राम्रो होस् भन्ने लाग्दैन, विद्यालयका हरेक गतिविधि राम्रो होस् भन्ने चहानामा छौं । पढाइ जत्तिकै महत्वपूर्ण छ हाम्रो लागि शौचालय पनि ।
‘हामी शौचालय प्रयोगका लागि लाइनमा बस्न बाध्य छौं,’ अर्याल गुनासो गर्छन्–पानीको समस्याका कारण बाहिर जान बाध्य हुन्छौं, कहिले त विद्यालयमा जान मन लाग्दैन ।
यी त केही विद्यालयका समस्या भए । अधिकांश सामुदायिक विद्यालयमा पानी तथा अपुग शौचालयका कारण विद्यार्थीमा समस्या पर्न गएको छ । केही समयअघि विद्यालयमा शौचालय व्यबस्था नहुँदा विद्यार्थी खहरेमा जानुपर्ने बाध्यता थियो । हाल विद्यालयमै शौचालय छ । तर, पानीको समस्याले उचितरुपमा प्रयोगमा आउन सकेका छैनन् । विद्यार्थीको संख्याअनुसार शौचालय र पानीको अभाव हुँदा विद्यार्थीको पढाइप्रतिको इच्छा र आकर्षणमा ठेस पुग्न गएको देखिन्छ ।
शिक्षा विकास तथा समन्वय एकाईं मकवानपुर प्रमुख कृष्णप्रसाद घिमिरेका अनुसार हाल मकवानपुरमा ७९ वटा निजी र ५ सय १३ वटा सामुदायिक विद्यालयमध्ये निजीका प्रायः शौचालय सुविधायुक्त छन् । सामुदायिक विद्यालयका भने ८० प्रतिशत समस्यामा छन् । यसको जिम्मा हाल गाउँपालिका तथा नगरपालिकालाई रहेको उहाँले दाबी गर्नुभयो ।











प्रतिक्रिया