विद्यालयमा नर्सरी कार्यक्रम सञ्चालन

0
Shares

नेपाल समाचारपत्र, लमजुङ
लमजुङमा दोर्दी गाउँपालिकाले आफ्नो क्षेत्र भित्रका विद्यालय नर्सरी कार्यक्रम सञ्चालन गरेको छ । विद्यार्थीलाई सानै उमेरदेखि रचनात्कम कार्यमा सरिक गराउने उद्देश्यले नर्सरी कार्यक्रम सुरु गरिएको हो ।

गाउँपालिकाभित्र रहेका १६ वटा विद्यालयमा उक्त कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले विद्यालय नर्सरी कार्यक्रम विद्यालयमा लागु भएको बताए । उनले भने विद्यालय हातामा सौन्दर्य बढाउन र विद्यार्थी शिक्षकलाई प्रयोगात्मक रूपमा सिकाउन कार्यक्रम लागु गरिएको हो । उनीहरूले विद्यालय नजिकै आधा रोपनी जग्गामा नर्सरी बनाउनुपर्छ । विभिन्न जातिका फुल तथा तरकारीका विरुवा लगाउन सकिने उनले बताए ।

विद्यार्थीले किताबमा पढेका कुरा व्यावहारमा लागु गर्न आवश्यक छ । शिक्षक, विद्यार्थीसँगै राखेर प्रयोेगात्मक गराउँदा दुवैलाई फाइदा पुग्छ पूर्वशिक्षक समेत रहनु भएका दोर्दी गाउँपालिकाका उपाध्यक्ष दिलबहादुर घलेले बताउनु भयो । उहाँका अनुसार कार्यक्रमबाट विद्यालयले आम्दानी बढाउन सक्छन् ।

सो कार्यक्रम सफलबनाउनका लागि रहेक विद्यालयका प्रधानाध्यापक र सम्बिन्धत विषय शिक्षकलाई दुई दिने प्रशिक्षण दिइसकिएको उपाध्यक्ष घलेले बताउनु भयो । विद्यालयको नर्सरीमा उत्पादन भएका विरुवा विद्यार्थी वा शिक्षकले घरमा लगेर लगाउन पनि सक्नेछन् । कार्यक्रम अन्र्तगत शिक्षकलाई कृषि नर्सरी सम्बन्धी तालिमका साथ परामर्श दिने योजना छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजयराज पौडेलले विद्यालय नर्सरी कार्यक्रम अन्र्तगत रहेका ८ वटा माध्यमिक र ८ वटा आधारभुत गरी १६ विद्यालयलाई निःशुल्क फूलको विरुवा तथा तरकारीका बीउ वितरण गरिएको जानकारी दिनु भयो । उहाँका अनुसार मुलुकभरमा यस्तो कार्यक्रम सञ्चालन गर्ने पहिलो स्थानीय निकाय हो ।

नर्सरीका लािग सबैभन्दा ठूलो साइजको टनेल प्रतिविद्यालय ६ हजार ८ सय मूल्य बराबरको दिइएको छ । यसैगरी, हजारी, स्पेयर तरकारीको विउ वितरण गरिएको उहाँको भनाई छ । उक्त कार्यक्रमका लागि चालु आवमा दुई लाख ४० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ, आउँदो वर्षदेखि निरन्तरता दिइने भएको पौडेल बताउनु हुन्छ । पौडेलका अनुसार आफ्नै जग्गा नभएका विद्यालयहरूले गाउँपालिका, वडा समिति र स्थानीय अभिभावकहरूसँग समन्वय गरी जग्गा व्यावस्थापन गर्न निर्देशन दिइएको छ ।