‘राज्यले महिला उद्यमीहरुलाई प्रोत्साहन गर्नुपर्छ’

0
Shares

नेपाल समाचारपत्र, म्याग्दी
गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले महिला उद्यमीहरुलाई प्रोत्साहन गर्नुपर्ने बताएकी छिन् । ‘नेपाली संस्कृतिको संरक्षण गर्दै, आन्तरिक पर्यटनको प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित सोमबारदेखि म्याग्दीको बेनीमा सुरु भएको माघेसङ्क्रान्ति मेला–२०७५ को उद्घाटन गर्दै उनले राज्यले उद्यमीलाई प्रोत्साहन गर्नुपर्ने बताएकी हुन् ।

उनले आवश्यकताको आधारमा तालिम सञ्चालन गर्नुपर्ने बताउँदै महिला उद्यमीलाई तीनै तहका सरकारले प्रोत्साहन गर्नुपर्नेमा जोड दिइन् । उनले उत्पादित सामानको माया गर्नुपर्ने भन्दै आयातलाई प्रतिस्थापन गरेर राष्ट्रिय पुँजीको विकास गर्नुपर्ने बताएकी छिन् । उत्पादन गरिएका चिजहरुको विविधिकरण गर्नुपर्ने बताउँदै उनले उत्पादनहरुको बजारीकरणमा स्थानीय तह र प्रदेश सरकारले सहयोग गर्नुपर्ने आवश्यकता औंल्याइन् ।

सामाजिक विकास मन्त्री पुनले गण्डकी प्रदेश सरकारले बेरोजगारका लागि सिपमूलक तालिम उपलब्ध गराउनका लागि कार्यक्रम अगाडि बढाएको जानकारी दिँदै गरिब तथा विपन्नका लागि सहुलियतदरमा ऋणको समेत व्यवस्था गरिने बताइन् । उनले गण्डकी प्रदेशमा सन् २०२२ सम्मा ५ लाख पर्यटकहरु भिœयाउनका लागि प्रदेश सरकारले योजना अघि सारेको बताउँदै पर्यटक व्यवस्थापनका लागि आन्तरिक तयारी गर्नुपर्ने बताइन् ।

पूर्व सांसद रेशमबहादुर बानियाँले महिलाहरु आर्थिक, सामाजिक क्षेत्र हुँदै राजनीतिमा सक्रिय भएर लाग्नुपर्ने बताउँदै आफ्नो क्षमताको विकास गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का युवा नेता राजकुमार थापा र नेपाली कांग्रेसका जिल्ला सचिव क्या. मिनबहादुर कार्कीले महिलाहरु उत्पादनमूलक र व्यावसायिक क्षेत्रमा आबद्ध भएर आत्मनिर्भरतर्फ लाग्नुपर्ने बताउँदै स्थानीय उत्पादनको प्रचारप्रसार तथा प्रवद्र्धन गर्नुपर्ने बताएका थिए । जिल्ला समन्वय समिति प्रमुख देवेन्द्रबहादुर केसीले जिल्लाको ग्रामीण भेगमा उत्पादन भैरहेका सामानको बजारीकरण गरी व्यवसायमूलक र उद्यमसिलतातर्फउन्मुख हुनुपर्ने बताए ।