मण्डन नगरमा क्रसर र भट्टामा करको दर दोब्बर

0
Shares

नेपाल समाचारपत्र, काभ्रे
मण्डन देउपुर नगरपालिकाको हिउँदे अधिबेशनमा एफ एम संचालन अनुमतिको इजाजत शुल्क देखि मदिरा तथा सुर्तिजन्य पदार्थको विधेयक प्रस्तुत गरिएको छ ।

सभामा चालु वर्षको ६ महिनामा भएको वित्तिय प्रगति, भौतिक पुर्वाधार तथा गत आर्थिक वर्षको अन्त्यमा चालु अवस्थामा रहेका योजनाहरुका बारेमा जानकारी गराईएको थियो । नगर प्रमुख टोकबहादुुर वाईवाको अध्यक्षतामा शुरु भएको सभामा अध्यक्षले बैठक प्रारम्भ भएको औपचारिक घोषणा सँगै प्रमुख प्रशासकिय अधिकृत एवं नगर सभाका सचिव मोहन अधिकारीले वित्तिय प्रगति, भौतिक प्रगतिका बारेमा जानकारी गराएका थिए । उपप्रमुख एवं सभाका उपाध्यक्ष निर्मला शाहिले विकास निर्माणमा भएको प्रगतिको अनुगमनमा देखिएका विषय र न्यायीक समितिका गतिविधिका बारेमा प्रतिवेदन प्रस्तुत गरेकी थिईन् ।

नगर सभा अध्यक्ष टोकबहादुर वाईवाले करको दर तथा दायरा पुनरावलोकन प्रस्ताव पेश गरेका थिए । राजश्व परामर्श समितिको सिफारिसका आधारमा नगरपालिका भित्र एफ एम संचालनका लागि ईजाजत दस्तुर ३० हजार र बार्षिक नविकरण दस्तुर १५ हजार कायम गर्ने प्रस्ताव सभामा पेश गरेका थिए । त्यस्तै नगरपालिका भित्र संचालन भएका सहकारीहरुलाई तोकिएको करमा शसोधन गरिएको छ । बचत तथा ऋण सहकारीहरुलाई ४ हजार, बहुउद्देश्यिय सहकारीलाई ३ हजार, दुग्ध सहकारीलाई १ हजार ५ सय र कृषि सहकारीलाई १ हजार कायम गरिएको छ । यस अघि सबै सहकारीलाई बार्षिक ४ हनार कायम गरिएको थियो ।

नगर सभामा कपाल काट्ने शैलुन ब्यवसाय दर्ता ता बार्षिक नविकरण शुल्क १ हजार र जुत्ता विक्री पसललाई ब्यवसाय दर्ता तथा नविकरण शुल्क १ हजार लिने नयाँ प्रस्ताव गरिएको छ । घर बाटो सिफारिस गर्दा बाटो नभएको जग्गा १० रोपनीसम्म भएमा प्रति रोपनी २ सय र सो भन्दा माथि भएका २ हजार कायम गर्ने गरी यस अघिको करको दर शंशोधन गरिएको छ ।

नगरपालिकामा क्रसर उद्योग दर्ता तथा बार्षिक नविकरण शुल्क १५ लाख कायम गरिएको छ । यस अघि उक्त शुल्कलाई ७ लाख कायम गरिएको थियो । ईटा उद्योग खोल्न बस्ति भन्दा टाढा, कृषि योग्य जमिन प्रयोग नगर्ने गरी बार्षिक १० लाख कायम गरिएको छ । यस अघि ५ लाख कायम गरिएको थियो । ढुंगा खानीका लागि १० लाख र बालुवा खानीका लागि ७ लाख नयाँ करको दर लागु गर्ने प्रस्ताव गरिएको छ ।

नगरपालिका घोषणा हुनु अघि निर्माण भएका ब्यवसायीक प्रयोजनका घरहरुको अभिलेखिकरण गर्नका लागि तल्लो तल्लामा रुपैया ७ र माथिल्लो तल्लाका लागि १० रुपैया कायम गरिएको छ । नगरपालिका भित्र रहेका होटेल ब्यवसाय दर्ता तथा अनुमति प्रदानका लागि कर संकलन गर्न क, ख, ग, घ वर्गमा बाँडिएकालाई विभाजनका आधार तयार गर्न कार्यदल गठन गरिएको छ ।

नगर सभामा मदिरा नियन्त्रणसम्वन्धी विधेयक, सुर्तिजन्य पदार्थ सम्वन्धी विधेयक, शिक्षा नियमावली शंशोधन र न्यायीक समितिको कार्याविधि शंशोधनका लागि प्रस्ताव दर्ता गरिएको नगर सभा सचिव मोहन अधिकारीले जानकारी दिए ।

नगरपालिकाको चालु आर्थिक वर्षको ६ महिनामा आय तर्फ ४९.२१ प्रतिशत लक्ष्य पुरा भएको छ भने खर्च तर्फ पुजिँगतमा ५ दशमलव ०९ प्रतिशत मात्रै खर्च भएको छ । चालु खर्चमा ३३ दशमलव ५१ प्रतिशत खर्च भएको छ ।