भाषा, धर्म र संस्कार–संस्कृति जोगाऔं



पछिल्लो समय भाषा, धर्म र संस्कार–संस्कृति संकटमा पर्दै गएकाले यसको जगेर्ना गर्नुपर्ने आवाजहरु उठिरहेका छन् । पछिल्लो पुस्ताका युवाहरुले मौलिक धर्म र संस्कृतिबारे बुझ्न नखोज्ने प्रवृत्ति देखिएको छ । त्यसै गरी, देशमा रहेका विभिन्न समुदायले आफ्नो धर्म, संस्कृति र रीतिरिबाज छोड्दै गएको अवस्था छ । पुर्खाले आर्जेको धर्म, संस्कृतिको जगेर्ना गरेर नै समृद्ध नेपाल निर्माणको लक्ष्य प्राप्त गर्न सकिन्छ । त्यही नै सत्मार्ग र सही बाटो हो ।

नेपाल एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक भएकाले ती सबै भाषा, धर्म र संस्कृतिको संरक्षण गर्नु राज्यको दायित्व हो । गाउँदेखि शहरबजारमा भाषा, धर्म, संस्कार–संस्कृतिबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक छ । धर्म–संस्कृति जोगाउन गाउँ–गाउँ तथा शहरबजारमा जागरण अभियान सञ्चालन गर्नुपर्छ ।
आफ्नो मौलिक संस्कृति र जातीय पहिचानका लागि जातजातिका बीच संगठित हुनु आवश्यक छ । त्यसैले, एकले अर्कालाई सम्मान गर्ने र सहकार्यको माध्यमबाट अगाडि बढ्ने परिपाटीको विकासले मात्र हाम्रो मौलिक भाषा र संस्कृतिको संरक्षण हुन्छ भन्ने सबैले बुझ्न आवश्यक छ । यस विषयमा सचेत सचेत बन्नुपर्छ ।
– विमल महर्जन, पाटन, ललितपुर

विकास निर्माणको बेथिति अन्त्य होस्
विकास निर्माणमा बे थिति चरमरुपमा बढिरहेको छ । तर पनि बेथितिविरुद्ध जनताबाट खबरदारी कमै हुने गरेको छ । राजनीतिक उद्देश्यबाट प्रेरित अन्य आन्दोलन भए पनि विकासका नाममा धेरै आवाज उठ्न सकेका छैनन् । विकास निर्माणमा भइरहेको बेथितिविरुद्ध नागरिक हस्तक्षेप बढाउनु सबै नागरिकको दायित्व हो । त्यसैले, हरेक नागरिकले आफू बसोबास गर्ने ठाउँमा भइरहेको विकासको काममा सूचना लिन सक्छन् र खबरदारी गर्ने अधिकार पनि हरेक नागरिकको हुन्छ भन्ने बुझ्नुपर्छ ।

काम ढिलो हुनुमा विभिन्न कारण देखाए पनि मुख्य कारण सरकारी निकाय र निर्माण व्यवसायीको इच्छाशक्तिको अभाव नै हो । विकास योजनामा जति गरे पनि बहाना र कारणहरु देखाएर कार्वाही नहुने परिपाटीले विकासको काम अपुरो हुने गरेको छ । कुनै घटना विशेषमा मात्र समस्या आउनु स्वाभाविक हो तर देशभरिमै एउटै प्रवृत्ति देखिनुले नियतमाथि नै प्रश्न उब्जिन्छ ।
विकासको कामले सुस्त गति लिए पनि भरपर्दो काम हुन सकिरहेको छैन । नियमनकारी निकायले अनुगमन नगर्दा विकासका कामले पूर्णता पाउन सकिरहेको छैन । जसले गर्दा विकासको काम दिगो भएका छैनन् । तसर्थ, विकास निर्माणमा नियमनकारी निकायलगायत नागरिक स्तरबाटै खबरदारी गरिनुपर्छ । सबै सचेत बनौं ।
– रामबहादुर कार्की, बनेपा, काभ्रे

छाउगोठ भत्काउने अभियान थालियोस्
बुधबार बिहान ३५ वर्षीया अम्बा बोहोरा, उनका छोराहरु नौ वर्षीय सुरेश र सात वर्षीय रमितको छाउगोठमा मृत्यु भयो । घरसँगै जोडिएको छाउगोठमा उनीहरुको शव फेला परेको थियो । सोमबार राति छाउगोठमा सुत्दा उनीहरु निस्सासिएर मृत्यु भएको अनुमान छ । बाजुरा जिल्लाका अधिकांश गाउँमा छाउपडी बार्ने प्रचलन छ । समाजमा गढेर बसेको कुप्रथाले ज्यानै लग्ने गरेको छ ।

अम्बा बोहोराजस्तै बाजुरामा छाउगोठमै ज्यान त्याग्नेहरु थुप्रै छन् । बाजुरामा छउपडीले अझै कतिको ज्यान लाने हो, निश्चित छैन । महिनावारीको बेला अविवाहितलाई ७ र विवाहितलाई कम्तीमा ५ दिन छाउगोठमा सुताउने गरिन्छ । महिनावारीको बेलामा स्याहारको आवश्यक हुन्छ । तर, समाजमा चल्दै आएको कुप्रथा र चलनले महिलाहरु पीडित हुन पुगेका छन् । कुप्रथा हटाउन अनेकौँ प्रयास भए पनि प्रयासहरु सफल हुन सकिरहेका छैनन् ।

महिनावारीकै कारण महिलाहरु टिमुरजस्तै खुम्चने गरेको पाइन्छ । उनीहरु खुम्चिएर बस्न बाध्य छन् । महिनावारी बार्ने कुरालाई लिएर मानसिक रोगले गर्दा पाठेघरसम्बन्धी समस्या हुने, मृगौलासम्बन्धी रोग लाग्ने, मूत्रप्रणालीमा समस्या आउने देखिन्छ । महिनावारीसँग अन्य रोग लाग्ने पनि हुनसक्छ । अर्को पुस्ता पनि खुम्चिँदै जानेजस्ता समस्याको बीजारोपण हुने गर्दछ । छाउपडी प्रथाले गर्दा समाजमा महिलाहरुका लागि महिनावारी मुख्य समस्या बन्दै गएको छ । तसर्थ, छउपडी प्रथाको अन्त्य गर्न समाजमा व्यापक सचेतना अभियान सञ्चालन गर्नुपर्छ । समाजमा वर्षौंदेखि गाडिएको प्रथाको अन्त्य गर्न हरेक नागरिक सक्रिय भएर लाग्नुपर्छ । सबैलाई सचेतना दिएर छाउगोठ आफैं भत्काउने अभियान थालनी गर्नु जरुरी छ ।
– निशा बुढाथोकी, पाल्पा

पर्यटक बढाउनेबारे सोचौं
नेपाल सरकारले सन् २०२० सम्ममा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित देशका विभिन्न १ सय वटा पर्यटकीय क्षेत्रलाई जानै पर्ने एक सय गन्तव्यमा समावेश गरेर विकासको काम थालेको छ । देशमा भएका धार्मिक, प्राकृतिक तथा मानव निर्मित संरचनालाई स्थापित र विकास गर्नुपर्ने गन्तव्यको रुपमा पहिचान गरेर काम थालिएको छ ।

देशभरका पर्यटकिय स्थलको प्रचारप्रसार गर्न जरुरी देखिएको छ । मुलुकमा धेरै प्राकृतिक र सांस्कृतिक सम्पदाहरु छन्, जसको संरक्षण हुन सकेको छैन । कतिपय यस्ता सम्पदा प्रचारप्रसारको अभावमा बाहिर आउन सकेका छैनन् । हामी सबै यस्ता सम्पदाको प्रचारप्रसारमा लाग्नु जरुरी छ । विश्वसम्पदा सूचीमा परेका सम्पदाको पनि संरक्षण गर्न जरुरी छ । नेपाल सरकारले पर्यटक भित्र्याउने अभियानअन्तर्गत विभिन्न योजनाहरु अगाडि ल्याउने गरेको छ । सबै अभियान सफल बनाउन हामी सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्छ ।
– अनिल श्रेष्ठ, भरतपुर

प्रतिक्रिया दिनुहोस्