कृष्ण आचार्य, चितवन । चितवनका जनप्रतिनिधिहरुले कर्मचारीका कारण भ्रष्टाचार बढेको आरोप लगाएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाले आज भरतपुरमा आयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रण र सुशासन’ विषयक अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधिले प्राविधिक कुराहरु नजान्दा भ्रष्टाचार मौलाएको बताए । कालिका नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष कृष्णकुमार श्रेष्ठले कर्मचारीका इशारामा जनप्रतिनिधि चल्नुपर्ने बाध्यता रहेको गुनासो गरे । उनले भने, ‘हरेक विकास निर्माणमा प्राविधिकले स्टिमेट निकाल्छ, त्यसमा सही के, गलत के जनप्रतिनिधिलाई थाहै हुदैंन ।’ आँखै नहेरी हस्ताक्षर गरिदिने परिपाटी छ । गलत स्टिमेटमा हुने कामले सबै जनप्रतिनिधिलाई भ्रष्टाचारी बनाएको उनको भनाइ छ । प्राविधिकहरुका विषयमा राम्रोसँग छानबिन गर्न श्रेष्ठले अख्तियारसँग माग गरे ।
कालिका नगरपालिकाकै वडा नम्बर १० का वडाध्यक्ष डिलबहादुर गुरुङले स्वास्थ्य, शिक्षामा राज्यले निःशुल्क घोषणा नगरे भ्रष्टाचार झन् मौलाउने बताए । रत्ननगर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष तिलक पौडेलले जनप्रतिनिधि नचाहेरै भ्रष्टाचारमा फस्नु परेको बताए । ‘हामीलाई धेरै कुरा थाहा हुँदैन्,उनले भने, कर्मचारीको आधारमा काम गर्दा कहाँ फसिन्छ भन्ने चिन्ता छ ।’ भरतपुर महानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष नरेन्द्र कन्दङवाले सरकारले नीतिगत भ्रष्टचार अन्त्यका लागि चासो दिनुपर्ने बताए । उनले कर्मचारीको सरुवाबाट नै भ्रष्टाचारको सुरुवात हुने गरेको दाबी गरे ।
कार्यक्रममा भ्रष्टाचार विरुद्धको अभियान चितवनका अध्यक्ष भीमबहादुर श्रेष्ठले जिल्लाका हरेक क्षेत्रमा भ्रष्टाचार मौलाएको भन्दै अख्तियार कडा रुपमा प्रस्तुत हुनुपर्ने सुझाव दिए । ‘सुशासन बिना भ्रष्टाचार न्यूनीकरण हुँदैन’, उनले भने, ‘भ्रष्टाचार न्यूनीकरण नभई देशमा विकास सम्भव छैन् ।’
कार्यक्रममा देशको पछिल्लो अवस्था निराशाजनक भएको भन्दै उनले आशा र भरोसाको केन्द्र अख्तियार भएको बताए । अख्तियारले सानो तिनो माछा मात्रै समाउने गरेको भन्दै उनले अख्तियार भित्रै सुधार्नुपर्ने धेरै कुरा भएको दाबी गरे । जानी नजानी भएका भ्रष्टाचारका कारण जनताले दुःख पाएको श्रेष्ठको भनाइ छ ।
जिल्लामा भ्रष्टाचार न्यूनीकरण हुन नसकेको स्वीकार प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले गरे । ‘हाम्रो संस्कार र आचरणमा परिवर्तन हुन जरुरी छ, उनले भने, घुस लिने र दिने गतिविधि नियन्त्रण गर्न प्रतिबद्ध छौं ।’ उनले जिल्लामा प्रत्येक महिना हुने कार्यालय प्रमुख र सूचना अधिकारीको बैठकमा कार्यालयमा अनैतिक गतिविधी नगर्न र जनताप्रति उत्तरदायी हुन निर्देशन दिँदै आएको बताए ।
कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त सावित्री थापा गुरुङले भ्रष्टाचार सानो ठूलो नहुने भन्दै कसैलाई पनि नछाड्ने चेतावनी दिइन् । उनले जिल्लाका हरेक निकाय पारदर्शी हुनुपर्ने बताइन् । ‘अख्तियारको कारबाही भनेको सिफारिस हो’, उनले भनिन्, ‘कारबाही गर्ने र उन्मुक्ति दिने काम अदालतको हो ।’ अदालतकै कारण धेरै अपराधी छुटेको उनको भनाइ छ । सबै क्षेत्रले ऐन नियमको परिधिमा रहेर काम गरे भ्रष्टाचार अन्त्य हुने उनको भनाइ छ । यस्तै अर्का आयुक्त गणेशराज जोशीले अख्तियारले गरेका धेरै काम कार्यान्वयन हुन नसकेको स्वीकार गरे । उनले विकास निर्माणमा ढिलासुस्ती गर्ने आयोजना र त्यसका प्रमुखलाई कडा निगरानीमा राखेको बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका सभापति कृष्णकुमार डल्लाकोटी, भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरी, राप्ती नगरपालिकाका प्रमुख प्रभा बराल, माडी नगरपालिकाका प्रमुख ठाकुर ढकाल, इच्छाकामना गाँउपालिकाकी अध्यक्ष गीता गुरुङलगायत वडाध्यक्ष र जिल्लाका विभिन्न कार्यालयका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
आर्थिक वर्षको ६ महिनामा ७४० भ्रष्टाचारका उजुरी
चितवनमा विकास निर्माण र आर्थिक गतिविधि फस्टाएसँगै भ्रष्टाचारजन्य क्रियाकलापमा पनि वृद्धि भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाले जारी गरेको यस आर्थिक वर्षको पुस मसान्तसम्मको तथ्यांक अनुसार काठमाडौं बाहिर सबैभन्दा धेरै भ्रष्टाचार भएका जिल्लाहरुको सूचिमा चितवन दोस्रो नम्बरमा रहेको छ ।
चितवन भन्दा धेरै भ्रष्टाचार हुने जिल्लामा काठमाडौं बाहिर मकवानपुर पर्दछ । चितवनमा यस आर्थिक वर्षको पुस मसान्तसम्म भ्रष्टाचारका ७४० वटा उजुरीहरु परेका थिए ।
चितवन जिल्लाका कार्यालयहरुको काम कारबाहीबारे परेका उजुरीहरुमा हेटौंडामा ४० र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालमा ७०० वटा उजुरी दर्ता भएका थिए । जसमध्ये हेटौंडामा यस आर्थिक वर्षको पहिलो ६ महिनामा १८ वटा उजुरीको फर्छौट भएको थियो भने काठमाडौंमा जम्मा ५७२ वटा उजुरी फर्छौंट भएका छन् । अख्तियारको विवरणमा जनाइअनुसार चितवनमा गरिएको स्टिङ अपरेसनमा गत भदौं १२ गते विद्युत् प्राधिकरण भरतपुर कार्यालय सहायक कृष्णबहादुर सुवेदीलाई २० हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ गरिएको थियो ।
अख्तियारले जनाए अनुसार चितवनमा भएका भ्रष्टाचारका विषयमा धेरै जसो उजुरीहरु चिठ्ठीबाट नै पर्ने गरेका छन् । प्रदेश नम्बर ३ का जिल्लाहरुमा समग्र उजुरीहरुको अवस्थालाई हेर्ने हो भने महिलामाथि जम्मा ४ वटा मात्र भ्रष्टाचारको आरोप लागेको थियो तर पुरुषहरु ५४४ जना र संघसंस्था १२१ लाई सो आरोप लागेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौंडाले जनाए अनुसार भ्रष्टाचारको बारेमा सबैभन्दा धेरै उजुरी शिक्षा मन्त्रालयको १८.३२ प्रतिशत रहेको छ ।
त्यस्तै आमसर्वसाधारणसँग अधिक मात्रामा अतिरिक्त रकम लिने कार्यालयहरुमा मालपोत कार्यालय र स्थानीय तह मुख्यरुपमा रहेका छन् । सबैभन्दा धेरै भ्रष्टाचार सम्भाव्य क्षेत्रहरु मध्ये सबैभन्दा धेरै मालपोत र भूमि सुधार कार्यालयहरु त्यस्तै विकासका कार्यहरु रहेका छन् ।











प्रतिक्रिया