सिन्धुली अस्पताल र बसपार्कमा फ्रि वाइफाई सेवा सुरु

0
Shares

बुद्ध नेपाली, सिन्धुली । सिन्धुलीको दुई सार्वजनीक स्थलमा सोमबारबाट फ्रि वाईफाई सञ्चालनमा ल्याइएको छ । कमलामाई नगरपालिकाको सहयोगमा सिन्धुली अस्पताल र सिन्धुली बस पार्कमा पहिलो पटक फ्रि वाइफाई सञ्चालनमा ल्याइएको हो ।

सिन्धुली अस्पतालमा सोमबार एक औपचारीक कार्यक्रमका विच फ्रि वाइफाई सञ्चालन गर्दै कमलामाई नगरपालिकाका प्रमुख मेयर खड्गबहादुर खत्रीले अस्पतालमा उपचार लिन आउने विमारी, विमारीका कुरुवा र वसपार्कमा बसको प्रतिक्षामा बस्ने यात्रुहरुका लागि लक्षित गर्दै यस्तो सेवाको शुभारम्भ गरिएको जानकारी दिए ।

अस्पतालबाट प्रदान गरिने सेवा, अस्पतालका चिकित्सकसंगको सम्पर्क र दिन या रातको समयमा पट्यार लाग्दो अवस्थामा विमारीलाई कुर्नु पर्दा समय कटाउनका लागि पनि फ्रि वाइफाइले मद्धत पु¥याउने खत्रीको तर्क छ ।
कहिले काँही मोवाइलमा ब्यालेन्स सकिएको अवस्थामा आफन्तलाई खबर गर्न र डाक्टरसंग सल्लाह लिन समेत फ्रि वाइफाइका माध्ययमबाट म्यासेन्जरमा कुरा गर्न सकिने भन्दै यस्तो व्यवस्थाले विमारी र कुरुवालाई थप सहज हुने अपेक्षा गरिएको छ ।

कमलामाई नगरपालिका र नगर क्षेत्रका प्रमुख सार्वजनिक क्षेत्रलाई प्रविधि मैत्रि बनाउने नगरको योजना अनुसार पहिलो चरणमा अस्पताल र बसपार्क क्षेत्रमा फ्रि वाइफाइ जडान गरिएको उनको भनाई छ ।

अव नगरका हरेक गतिविधिहरु कार्यालय बाहिरबाटै सहज जानकारी लिन सक्ने गरी यस्ता प्रविधि गाउँगाउँमा पु¥याउने योजना नगरले अघि सारेको पनि कार्यक्रममा सुवेधिले जानकारी गराए ।

अस्पतालमा फ्रि वाइफाई जडानले अस्पताको सेवा प्रवाह र सेवाग्राहीमा थप सहजता ल्याईदिएको अस्पताल विकास समितिका अध्यक्ष प्रलादकुमार पोखरेलको भनाई छ । वाइफाईका कारण अस्पतालमा भएका चिकित्सकहरु र विमारी तथा उनका आफन्तहरुले डिजिटल प्रविधिबाटनै सेवा लिन सकिनेमा पोखरेलको जोड छ ।

एक पटक वाइफाई कनेक्सन गरे ४५ मिनेटसम्म निरन्तर सञ्चालन हुने र थप समेत कनेक्सनका लागि पुन साइन आउट गरी कनेक्सन गर्न सकिने बताइएको छ ।