माघीको रौनक

0
Shares

सलिम अन्सारी, प्युठान
जिल्लाका विभिन्न धार्मिक एवं पर्यटकीय स्थलहरुमा माघे सक्रान्ति मेला लाग्दैछ । जिल्लाका मगर समुदायले यसपटक माघी पर्व धुमधामले मनाउने तयारी गरेका छन । मगर बाहुल्य गाउँमा सांस्कृतिक र खेलकुद प्रतियोगिता आयोजना गर्ने तयारी भइरहेको छ ।महोत्सवमा मगरका परम्परागत खाना र रहनसहनसमेत प्रदर्शन गरिने योजना छ ।

प्रदेश ५ कै उत्कृष्ट्र पर्यटकिय गन्तव्य स्वर्गद्धारी सहित झिमरुक नदिको उत्गम स्थल गौमुखी, झिमरुक नदि र माण्डवी नदिको संगम स्थल ऐरावती, तिरामको किमिचौर दह, मरण्ठानाको बुलवुल मुल बाइसधारा लगायत स्थलहरुमा भव्य मेला लाग्दैछन् ।यहाँ श्रदालुहरुको बाक्लो चहलपहल हुने गरेको छ।

पुस मसन्ता देखि यहाँ मेला शुरु हुने गर्दछ। माघ महिनाको पहिलो दिन यी स्थानहरुमा स्नान गरेमा वर्षभरी जानेर वा अन्जानमा भएका गल्ती पखालिन्छ भन्ने धार्मिक बिश्वास रहिआएको छ । माघे सक्रान्तिको दिन खिचडी खाने, विभिन्न प्रकारका तरुल र रोटीहरु खाने चलन छ ।

हरेक बर्ष पर्यटन सम्वन्धी गतिविधि संचालन भैरहदाँ यस पटक जिल्लाका विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रम संचालन गरिएको छ । स्थानिय कला भाषा र लोपउन्मुख संस्कृतीको जगेर्नाका साथै पर्यट्न बिकासका लागि मेलाको आयोजना गरिएको आयोजकले जानकारी दिएका छ्न् ।

माघे सक्रान्तिकै अवसर पारेर स्वर्गद्धारीमा यश बर्ष पनि खिचडि मेला आयोजना गरिएको छ। झिमरुक नदि र माण्डवी नदिको संगम स्थल ऐरावतीमा पनि नुहाउनेहरुको निकै घुइचो लागेको छ । राप्ती नदि बन्ने यस स्थानमा नुहाउनका लागि प्युठान सहित दाङ,अर्घाखाँची,गुल्मी,कपिलबस्तु लगाएत छिमेकी राष्ट्र भारतबाट समेत दर्शनार्थी आउने क्रम शुरु भएको छ ।गौमुखी र ऐरावतीमा श्रदालुहरुले नुहाए पुर्णयलाभ हुने,सन्तान प्राप्ती हुने र मनले चिताएको।कुरा पुग्ने धार्मिक बिश्वास छ।

भालुवाङ्ग–प्यूठान सडक सडक खण्डमा पर्ने बड्डाडाँ बजारदेखि करिव १८ किलोमिटर कच्चि सडक पार गरि माण्डवी नदीमाथि बनेको झोलुंगे पुल तरिसकेपछि ऐरावती पुग्न सकिन्छ । पुसको अन्तिम दिन राती स्थानीय सोरठी नाँच, लोक गीत, भजन क्रितन कार्यक्रम गरी माघे संक्रान्तिको दिन दोभानमा नुहाउने गरिएको छ ।गौमुखिमा विहानै गाईको मुख जस्तो आकारबाट छङछङ बग्ने चिसो पानीमा नुहाउनेहरुको घुँइचो लागेको थियो । दर्शनार्थीहरुलाई प्रसाद वितरण र भजन सहित स्थानीय लोक सास्कृतिक प्रदर्शनी कार्यक्रम समेत गरिएको छ । गौमुखी पुग्नका लागि अर्खासम्म कच्चि मोटरबाटो पुगेकाले दर्शनार्थीको संख्यामा बृद्धि भएको स्थानीयले बताएका छन् ।

यसै गरी प्युठानको सरुमारानी ६ को तिराम स्थित किमिचौर गाउँमा रहेको किमिचौर दहमा पनि मेला लागने त्यहाँका स्थानीयबासीहरुले जनाएका छन् ।त्यस्तै नौबहिनी गाँऊपालिका–६ बाहाने बजारमा कला सस्कृति प्रदर्शन सहित सास्कृतिक कार्यक्रम तथा प्रतियोगिता, प्यूठान नगरपालिका–४ खेलकुद मैदानमा आदिवासी जनजातिहरुको कला सस्कृति प्रदर्शनी,प्यूठान नगरपालिका–१० बाईसधारा मुल मरन्ठानामा विभिन्न प्रतियोगिता सहित माघे सक्रान्ती मेला लाग्ने आयोजकहरुले बताएका छन।