प्रदेश–३ मा बजेट तथा स्रोत समिति

0
Shares

हेटौंडा ।
प्रदेश–३ को प्रदेश नीति तथा योजना आयोगले प्रदेशको बजेट तथा स्रोत समिति गठन गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा सोमबार हेटौंडामा बसेको आयोग बैठकले आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलको अध्यक्षतामा समिति गठन गरेको हो ।
समिति उपाध्यक्षमा आयोग उपाध्यक्ष डा. खिमलाल देबकोटा हुनुहुन्छ भने प्रदेश नीति तथा योजना आयोग सदस्य, मुख्यमन्त्री कार्यालय सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालय सचिव, नेपाल राष्ट्र बैंक प्रदेश कार्यालय प्रमुख, प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय प्रमुखलाई सदस्य चयन गरिएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका बजेट योजना कार्यक्रम महाशाखा प्रमुखलाई सदस्य सचिव चयन गरिएको प्रदेश नीति तथा योजना आयोग उपाध्यक्ष डा. देबकोटाले जानकारी दिनुभयो । आयोगको सोमबार बसेको बैठकले प्रदेश नीति तथा योजना आयोग उपाध्यक्ष डा. देबकोटाको अध्यक्षतामा आवधिक योजना तर्जुमा समिति गठन गरेको छ ।

प्रदेशको आवधिक योजनाको आधारपत्रको मस्यौदालाई अन्तिम रुप दिन आवधिक योजना तर्जुमा समिति गठन गरिएको डा. देबकोटाले बताउनुभयो । समितिमा आयोग सदस्य, मुख्यमन्त्रीको कार्यालय तथा सबै मन्त्रलयका सचिवहरु सदस्य तथा आयोगका सचिव सदस्य सचिव रहने आयोगका शाखा अधिकृत चीरञ्जीवि पौडेलले बताउनुभयो ।

बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री ढुंगेल, मुख्यमन्त्री पौडेलका प्रमुख राजनीतिक सल्लाहकार जेएन थपलिया, प्रदेशका प्रमुख सचिव आन्दराज ढकाल, प्रदेश नीति तथा योजना आयोग सदस्य श्याम बस्नेत र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सचिव रमेश शिवाकोटीको सहभागिता थियो ।