धनवीर दाहाल, रुकुम ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका –४ सोलावाङमा स्थापना गरिएको दुग्ध संकलन तथा चिस्यान केन्द्रमा दुध संकलन गरी विक्री वितरण सुरु गरिएको छ । नागरिक दुग्ध सहकारी संस्था लिमिटेडले स्थापना गरेको उक्त संकलन केन्द्रले बुधबारदेखि दुध संकलन गर्न सुरु गरेको हो ।
संकलन सुरु गरेको पहिलो दिनमा चारसय ५० लिटर र दोस्रो दिन ६ सय ५० लिटर दुध संकलन भएको सहकारीले जनाएको छ । उक्त दुध सदरमुकाम मुसिकोट खलंगा, सोलावाङ, सिम्रुतु र झुल्नेटा बजारमा खपत गरिएको सहकारीका अध्यक्ष धिरेन सिर्पालीले बताउनुभयो । ‘अहिले दैनिक एकहजार दुध खपत हुने अनुमान गरिएको छ ।’ उहाँले भन्नुभयो, ‘सुरुमा भएकोले माग पूरा गर्न नसकेपनि गाउँसम्म गाडी पु¥याएर संकलन गरिनेछ ।’
जिल्लामा माग पूरा गरेर पनि दैनिक तीनहजार लिटरसम्म दुध नेपालगञ्ज दुग्ध विकास आयोजनाले लिनेगरी गत पुस ११ गते सम्झौता समेत गरिएको उहाँको भनाई छ । यो सम्झौता अनुसार दुधको माग पूरा गर्न गाउँगाउँबाट दुध संकलन गर्ने प्रयास भईरहेको अध्यक्ष सिर्पालीले बताउनुभयो ।
दुध संकलनका लागि सहकारीले मुसिकोट नगरपालिकामा २, त्रिवेणी गाउँपालिकामा ९, सानीभेरी गाउँपालिकामा ५ र बाँफिकोट गाउँपालिकामा १ स्थानमा सहायक संकलन केन्द्र समेत राखिएको छ । सहायक संकलन केन्द्रबाट सहकारीकै गाडीमार्फत ढुवानी गरेर चिस्यान केन्द्रमा ल्याउने गरिएको छ । सहकारीका सम्बन्धित क्षेत्रका शेयर सदस्यहरुलाई सहायक संकलन केन्द्रको जिम्मेवारी दिइएको सहकारीका अध्यक्ष सिर्पालीले बताउनुभयो । सहायक संकलन केन्द्रमा समेत फ्रिज, क्यान, ल्याक्टोमिटर, थर्मोमिटर लगायतका उपकरण समेत उपलब्ध गराइएको छ । दुधको गुणस्तर अनुसार ३७ देखि ४० रुपैयाँ प्रतिलिटर मूल्यमा खरिद गर्ने र ४४ देखि ४८ रुपैयाँ प्रतिलिटर विक्री गर्ने गरिएको छ ।
जिल्लामा उत्पादित दुधलाई बाहिर निर्यात गर्ने उद्देश्यले स्थानीय युवाहरुको सक्रियतामा २०७१ सालमा सहकारी स्थापना गरिएको थियो । यस दुग्ध संकलन तथा चिस्यान केन्द्रका लागि कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको ७९ लाख र मुसीकोट नगरपालिकाको सातलाख ५० हजार रुपैयाँ सहयोग प्राप्त भएको सहकारीले जनाएको छ ।
त्यस्तै सहकारीको शेयर लगानी रकम १९ लाख ७१ हजार र एभरेष्ट बैंकबाट १७ लाख तथा राष्ट्रिय दुग्ध विकास बोर्डबाट चारलाख ५४ हजार रुपैयाँ ऋण समेत गरेर कूल एककरोड २७ लाख ७५ हजार लगानीमा संकलन केन्द्र स्थापना गरिएको नागरिक दुग्ध सहकारीका अध्यक्ष सिर्पालीले जानकारी दिनुभयो । उक्त रकमबाट एउटा चिलिङ भ्यान, एउटा पिकअप भ्यान र अन्य उपकरण खरिद गरिएको छ । साथै वार्षिक ३० हजार भाडामा सोलावाङमा तीन रोपनी भाडामा लिएर दुईवटा भवन निर्माण गरेर दुग्ध उद्योगकै रुपमा अगाडि बढाइएको सहकारीले जनाएको छ ।
यस सहकारीले भैँसीपालन गर्ने कृषकहरुलाई व्यवसायिक रुपमा लाग्न समेत आग्रह गरेको छ । ‘सहकारीले गाउँमै पुगेर दुध संकलन गर्न थालेपछि अहिले कृषकहरुमा समेत भैँसीपालन गर्ने उत्साह बढेको छ ।’ उहाँले भन्नुभयो, ‘पहिले–पहिले गाउँमा दुध बेच्नुहुन्न भन्ने संस्कार भएका कृषकहरुमा समेत परिवर्तन आएको छ ।’ यस उद्योगमा ८ जना स्थानीय युवाहरुले रोजगारी समेत प्राप्त गरेका छन् भने केहीले दैनिक ज्यालादारीमा समेत काम पाएका छन् ।











प्रतिक्रिया