सम्झनामा प्रेमा शाह सार्वजनिक

0
Shares

नायिका जल शाहकी आमा तथा नेपाली साहित्यकी सशक्त नारी हस्ताक्षर स्व। प्रेमा शाहको जीवनीमा आधारित सम्झनामा प्रेमा शाह नामक डकुमेन्ट्री सार्वजनिक गरिएको छ। साहित्यकार नरेन्द्रराज प्रसाईंको आलेख, राजन काफ्लेको छायांकन र सुरेश दर्पण पोखरेलको निर्माण संयोजन रहेको बायोपिक डकुमेन्ट्री जल शाहले आमा प्रेमा शाहको जीवनका उतारचढावलाई समेटेर निर्माण गरेकी हुन्।

सार्वजनिक डकुमेन्ट्रीमा नेपाली साहित्यका विभिन्न व्यक्तित्वले स्व। शाहको जीवन र लेखनका बारे राखेका धारणा प्रस्तुत गरिएको छ। २००१ सालमा वीरगन्जको श्रीपुरमा जन्मेकी प्रेमा आऊ मलाई सम्भोग गर कविता लेखेपछि साहसी महिला साहित्यकारका रूपमा साहित्य क्षत्रेमा उदाएकी थिइन् भने एउटै सम्भोग नामक कथा लेखेपश्चात उनको चर्चा चुलिएको थियो।
कथा संग्रह पहेंलो गुलाब, विषायान्तर, लघु उपन्यास ममी, संयुक्त लेखन उपन्यास आकाश विभाजित छ, हिन्दी नाटक चित्रङ्दाको नेपाली अनुवाद, बाल कथाहरू मन्टुकी बजैको कथाको पेटारो, जिंकी र जोकर, इन्द्रधनुष रंगीचंगी कथाहरू, राम्रो काम लेखेकी प्रेमाका बाल उपन्यासहरू मनु र भँगेरा, आनन्दको आविष्कार, बाल गीतिसंग्रह भाग १ र २ लगायत प्रकाशित कृति हुन्। उनको गत वर्ष पुस ५ गते उपचारका क्रममा अमेरिकाको साल्टलेक सिटी अस्पतालमा निधन भएको थियो। उनी केही समयदेखि छोरी जलका साथ अमेरिका बस्दै आएकी थिइन्।