सरोज यादव, विराटनगर
२५ लाख रुपियाँको चिठ्ठा परेको छ भनि इमोबाट प्रलोभन देखाएर ठगी गरेको आरोपमा मोरङ प्रहरीले चार जनालाई पक्राउ गरेको छ । बारा जिल्लाको बरा प्रसौनी गाउँपालिका–६ बेलहीकी सखिना खातुनलाई एनसेल कम्पनीको चिठ्ठा परेको र उक्त चिठ्ठा रकम प्राप्त गर्न पैसा पठाउनुपर्छ भन्दै ३० हजार रूपैयाँ ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा मोरङको कटहरी गाउँपालिका–३ का ३४ वर्षीय मन्जयकुमार सिंह, शत्रुधनकुमार तत्मा, २६ वर्षीय श्रवण मल्लाह र जहदा गाउँपालिका–४ का २१ वर्षीय अजयकुमार सिंह रहेका छन् । उनीहरूमध्ये मन्जयकुमारले सखिनालाई इमोबाट फोन गरी चिठ्ठा वापतको रकम लिन सुरूमा ३० हजार मागे गरेपछि उनले आइएमईबाट पठाइदिएकी थिइन् ।
उक्त रकम विराटनगर महानगरपालिका–७ हाटखोलास्थित लक्ष्मी मनी ट्रान्सफरबाट मन्जयकुमारसहितले निकालेर पूनः ७५ हजार रूपैयाँ माग गरेका थिए । थप रकम मागिएपछि आफू ठगिएको थाहा पाएकी सखिना र उनका आफन्तले जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दिएका थिए । सोही सूचनाका आधारमा उनीहरूलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एस्पी मनोज केसीले बताए ।
मनी ट्रान्सफर अगाडिबाट पक्राउ परेका उनीहरूका साथबाट १ लाख ४५ हजार नगदसहित चार थान मोबाइल सेट र कागजात बरामद गरिएको बताइएको छ । उनीहरूले अन्य व्यक्तिलाई समेत ठगी गरेको हुन सक्ने भन्दै घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया