पुथाउत्तरगंगाको केन्द्र विवाद समाधान

0
Shares

धनवीर दाहाल, रुकुम
रुकुम पुर्वको पुथाउत्तरगंगा गाँउपालिकामा केन्द्रको विवाद समाधान भएको छ । गाउँपालिकाको केन्द्रको टुंगो लागेसँगै अब विकास निर्माणमा सहजता हुने गाउँपालिका अध्यक्ष ओमप्रसाद घर्तीमगरले बताउनुभयो । सरकारले २०७३ मा पुथाउत्तरगंगा गाउँपालिकाको अस्थायी केन्द्र कोलमा तोकेसँगै सुरु भएको केन्द्र विवाद समाधान भएको हो ।

केन्द्र कोल बनाइएको विरोधमा उत्रिएको तकसेरामै गाउँपालिका केन्द्रको उद्घाटन गरिएको छ । स्थानीय तह घोषणा र अस्थायी केन्द्र तोकिएसँगै १० र ११ नम्बर वडाका बासिन्दा तकसेरा केन्द्र हुनुपर्ने माग गर्दै आन्दोलित भएका थिए । कोलमा तोकिएको अस्थायी केन्द्रसमेत तकसेराका बासिन्दाले उद्घाटन गर्न नदिएपछि हाल सम्म केन्द्र अन्यौलताका कारण स्थानीयबासीमा समस्या भएको थियो ।

गत साउन १० मा बसेको गाउँसभामा गाउँपालिकाको केन्द्र टुंगो लगाउन मतदान भएको थियो । मतदानले दुई तिहाई मत तकसेराको पक्षमा दियो । गाउँसभाको निर्णय प्रदेश हुँदै संघीय सरकारमा सिफारिस गरिएको थियो । संघीय सरकारको मन्त्रिपरिषदले गाउँपालिकाको केन्द्र हेरफेर गर्ने स्थानीय तहको निर्णय सदर गर्दै पुथाउत्तरगंगा–१० तकमा स्थायी केन्द्र बनाउन गरेको निर्णय राजपत्रमा छापिएपछि तकमा गाउँपालिका कार्यालय तथा त्यस मातहतका कार्यालयको उद्घाटन गरिएको हो । यसअघि अध्यक्ष आफैं पनि गाउँपालिका कार्यालय जान छाडेका थिए ।