डोटेली राजदरबारको संरक्षण संवद्र्धन गरिँदै

0
Shares

विमल विष्ट, डोटी
डोटीको दिपायल सिलगढी नगरपालिकाले भग्नावशेष अवस्थामा दिपायलमा रहेको डोटेली राजाको दरबारको संरक्षण तथा सम्वद्र्धन गर्ने भएको छ । उक्त दरबार संरक्षण तथा सम्वद्र्धनका लागि दिपायल सिलगढी नगरपालिकाले यस आर्थिक वर्षमा १५ लाख खर्च गर्न लागेको छ । बाईसे चौवीसे राज्यका पालामा डोटेली राजा बस्नका लागि मासको गारोले निर्माण गरिएको उक्त दरबार संरक्षण सम्वद्र्धनको अभावमा भग्नावशेष अवस्थामा रहेको छ ।

नेपालको राष्ट्रिय स्तरको सम्पदाका रुपमा सूचिकृत उक्त दरबारको स्तरोन्नती गरि सुदूरपश्चिम प्रदेशकै ऐतिहासिक संग्रहालयका रुपमा स्थापित गर्ने उद्धेश्यले दरवारको संरक्षण तथा सम्वद्धर्न गर्न लागिएको दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासीले बताउनु भयो । उहाँले भन्नुभयो ‘दरवार भग्नाबशेष अवस्थामा छ,हामी यसको संरक्षण र सम्वद्र्धन गरेर नमुना संग्रालय बनाउने छौ ।’

डोटी दरबार झण्डै १५ औं शताब्दीतिर निर्माण भएको हुन सक्ने अनुमान छ । उक्त ठाउमा दुई वटा भग्नावशेष दरबारभवन, भैरव मन्दिर रहेका छन् भने दरबार क्षेत्रको जमिन भित्रभित्रैबाट सेती नदिमा नुहाउन जाने गुफा समेत रहेको छ । डोटी गौणाको केन्द्र, तत्पश्चात साविकको संरचनामा क्षेत्रीय सदरमुकाम रहेको दिपायलको छेवैमा अग्लो डाँडामा उक्त दरबार अवस्थित छ ।

दरबार भएको स्थानबाट दिपायल बजार, पिपल्ला बजार, दुधेश्वर, दिल्पेश्वर मठ, बासुधारा जस्ता क्षेत्रको दृष्यावलोकन गर्न सकिन्छ । उक्त दरबारमा ११ फिटभन्दा लामो ढुंगाको प्रयोग गरी आकर्षक डिजाइनमा निर्माण गरिएको भग्नावशेष पर्खाल अझै रहेको छ । दरबारमा प्रयोग भएका ढुंगा, काठ,छानामा प्रयोग भएका स्लेट सबै चोरी भैसकेको स्थानियबासीहरु बताउछन् । संरक्षण नहुँदा उक्त दरबार क्षेत्र अहिले कहाली लाग्दो अवस्था रहेको छ ।

भग्नावशेष अवस्थामा रहेको डोटी दरबार संरक्षणका लागि पुरातत्व विभागको टोलीले पनि हालै स्थलगत निरिक्षण तथा अवलोकन गरेको छ । दरबारको स्थलगत अवस्था अवलोकनबाट प्राप्त भएका यथार्थ तथ्यहरु र दिपायल सिलगढी नगरपालिकाले गरिरहेको पहलबारे तत्काल पूरातत्व विभागमा प्रतिवेदन पशे गरी थप काम अगाडी बढाइने पूरातत्व विभागका अधिकृत विष्णु पाठकले बताउनुभयो ।

उक्त दरवार दिपायल सिलगढी नगरपालिका वडान.२ र ३ मा पर्दछ । तत्कालका लागि दिपायल सिलगढी नगरपालिकाले छुट्याएको बजेटका आधारमा दरवारको भग्नावशेष अवस्थालाई उत्खनन गरी बाँकी संरचना निर्माणको काममा अगाडी बढाईने पूरातत्व विभागका सव–इन्जिनियर गोविन्द अधिकारीले जानकारी दिनुभयो ।