बुद्ध नेपाली, सिन्धुली
शारदा बुढाथोकी कारागार कार्यालय सिन्धुलीमा अहिले अवैध गर्भवतनको अभियोगमा पुर्पक्षको लागि थुनामा रहेकी छिन् ।
कारागार कार्यालय सिन्धुलीमा क्षमता भन्दाबढी कैदी राखिएकाले साँघुरो कोठामा कठिनसँग रात काट्दै आएको उनले बताईन ् । ‘मेरो दुई वर्षको छोरी सहित १२ जना महिला एउटा साँघुरो कोठा भित्र बस्नु परेको छ’, उनले भनीन् ‘अचेलको जाडो यही हो, कोठाभित्र घामको मुख देख्न पाइँदैन । गेटमा म्याट ओछ्याएर नानी लिएर सुत्ने गरेकी छु ।’
उनी एक पात्र मात्र हुन् । उनीजस्तै अन्य कैदीबन्दीको गुनासो यस्तै छ । कारागार कार्यालय सिन्धुलीमा क्षमता भन्दाबढी कैदीहरु राखिदा भेडाबाख्रा झै बस्न बाध्य भएका छन् ।
२५ जनाको क्षमता रहेको कार्यालयमा अहिले कैदी र बन्दी गरी क्षमताको झण्डै ६ गुणा बढी १४२ जना र एक जना आश्रित बालबालिका समेत गरी १४३ जना बस्दै आएका छन् । जनसङ्ख्या बृद्धिसँगै अपराधका घटना पनि बढेकाले कैदीको चाप बढेको कार्यालयले जनाएको छ ।
कारागारमा रहेका कैदीमध्ये अदालतले सजाय तोकेका ११० जना कैदी र पुर्पक्षका लागि थुनामा राखेका कैदीको सङ्ख्या ३२ रहेको छ । कैदीको सङ्ख्यामध्ये ११ जना महिला रहेका कारागार कार्यालयले जनाएको छ ।
सुत्नको लागि कैदीलाई खाटको समेत व्यवस्था नभएको उनीहरुको गुनासो छ । जाडोको मौसम भएकाले महिला कैदीलाई दैनिक रुपमा दिउँसो एक÷डेढ घण्टा घाममा निकालेर राख्ने गरिएको कारागार कार्यालयका इन्चार्ज प्रहरी नायब निरीक्षक सुरेशकुमार झाले बताए ।
वि.स.२०२५ सालमा निर्मित भवन जीर्ण बन्दै गएको र भूकम्पले समेत चिरा पारेकोले नयाँ भवन निर्माणका लागि आठ करोड ८८ लाख रुपैयाँको लागतमा डाँफे कन्ट्रक्सन धुलीखेलले ठेक्का पाएको कार्यालय प्रमुख(जेलर) मात्रिका प्रसाद पहाडी बताउछन् । तीन वर्ष्भित्र उक्त नयाँ भवन निर्माण गरिसक्नु पर्ने उनको भनाई छ ।
चौकीदार बिदुर कार्की पनि लागुऔषधका थुनुवाहरुका कारण कैदीबन्दीको चाप बढेको बताउनुहुन्छ । झट्ट हेर्दा कारागार अपराधिले सजाय भुक्तान गर्ने ठाउँको रुपमा देखिए पनि सुधार गृहको रुपमा कैदीले महसुस गर्दै आएका उनको भनाई छ ।
कारागार कार्यालय सुधार गृहको रुपमा विकास हुँदै गएको जानकारी दिँदै उनले भन्नुभयो, ‘साँघुरो नहोस भनेर ट्रष्ट थपेर कैदीलाई राखिएको छ । भित्रको वातावरण, सरसफाई सबै राम्रो छ ।’











प्रतिक्रिया