मनोज भट्ट, महेन्द्रनगर
कञ्चनपुरको महाकाली नदी पारीको दशगजाक्षेत्र कुतियाकवरमा गत बिहिवार राति भारतिय सीमा सुरक्षा बल एसएसबी द्धारा ११ राउण्ड गोली हवाई फायर पछि स्थानीयहरुमा डर तथा त्रास छाएको छ । माहाकाली नगरपालिका– १० कुतियाकवरको दशगजा क्षेत्रमा सीमा क्षेत्रमा सुरक्षार्थ खटिएका भारतीय सीमा सुरक्षा बल एसएसबी जवान बिच आपसमा विवादको कारण बिहिवार राति अबेर सम्म गोली चलेपछि हराएका गोलीका खोका खोज्न भारतीय सुरक्षाकर्मी कुतियाकवर तथा आसपासको क्षेत्रमा छरिएका छन् ।
मदिरा सेवन गरेकै कारण भारतिय सुरक्षाकर्मी जवान बिच एक आपसमा विवाद चर्केपछि ११ राउण्ड हवाई फायर भएको पुष्टि गरिएको छ । दशगजा क्षेत्रमा गोली चलेको केही मिनेटमै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली कुतियाकवर पुगेको थियो । गोली चलेपछि हराएका गोलीका खोका खोज्न भारतीय सुरक्षाकर्मीले स्थानियहरुलाई आग्रह गर्दै आएको स्थानियहरुले बताएका छन् ।
११ राउण्ड गोली मध्ये ३ थान गोलीका खोका भारतिय सुरक्षाकर्मीले फेला परेको र बाँकि खोका कुतियाकवर क्षेत्रमा हराएको भन्दै खोज्न आउने गरेको स्थानीयले बताए ।
ईन्सास राईफलबाट चलेको गोलीका ६ थान खोका नेपाली सुरक्षकर्मीलाई स्थानियहरुले बुझाएको र ५ थान खोका भारतीय सुरक्षाकर्मीले लगेको स्रोतले बताएको छ । ५ थान खोका मध्य पनि भारतीय सुरक्षाकर्मीबाट पनि २ थान खोका बिचै बाटोमा हराएको भारतिय सिमा सुरक्षाकर्मी श्रोतले जानकारी दिएका छ ।
ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका इन्सपेक्टर चेतराज पनेरुले गोलीका खाली खोका आफुहरुले नियन्त्रणमा लिईसकेको भारतीय सीमा सुरक्षा अधिकारहरुलाई जानकारी गराईसकेको र नेपालीहरुलाई कुनै प्रकारको त्रास दिए राम्रो नहुने चेतावनी दिएको बताए । इन्सपेक्टर पनेरुले कुतियाकवरमा नियन्त्रणमा लिएका गोलीको खोका फोरेन्सीक ल्याबमा पठाईसकेको बताए । प्रहरीले कती थान गोलीका खाली खोका नियन्त्रणमा लिएको भन्ने बारे पुष्टि चाहि नभएको बताए ।











प्रतिक्रिया