पारा भारोत्तोलनमा रजनीलाई स्वर्ण

0
Shares

काठमाडौं, (नेस)

पारा राष्ट्रिय खेलकुद च्याम्पियनसिपअन्तर्गत राष्ट्रिय पारा भारोत्तोलन प्रतियोगिताको महिला ५५ केजीमा रजनी राईले आइतबार स्वर्ण जितेकी छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा राष्ट्रिय पारा भारोत्तोलन खेलकुद संघ नेपालको व्यवस्थापनमा भएको प्रतियोगितामा रजनीले ४० केजी भार बहन गरिन् । अनु राई (३५ केजी) तथा हेमकुमारी राई (३० केजी) क्रमशः दोस्रो र तेस्रो भए ।

महिला ५५ केजीमाथि सरिता थुलुङ ५५ केजी वजन उचाल्दै पहिलो भइन् । निर्मला भण्डारी (५० केजी) ले रजत तथा लक्ष्मी घिमिरे (४० केजी) ले कांस्य जिते ।

पुरुष ५४ केजीमा ५५ केजी भार उठाएका दानबहादुर थिङले शीर्ष स्थान हात पारे । गिरीराज थापा दोश्रो तथा सागर पाण्डे तेश्रो बने । दुवैले समान ४५ केजी वजन उठाए पनि अघिल्लो लिफ्टका आधारमा गिरीराज दोश्रो भएका हुन् । ६५ केजीमा विष्णुपुकार श्रेष्ठ पहिलो भए । उनले ६५ केजी तौल उचाले । त्यत्तिनै तौल उचाले पनि अघिल्लो लिफ्टको प्रदर्शनका आधारमा दीपक तिल्सिनाले दोश्रो स्थानमा चित्त बुझाए । ६० केजी भार वहन गरेका यम श्रेष्ठ तेश्रो स्थानमा रहे ।

पुरुष ७२ केजीमा आशिष मानन्धरले स्वर्ण जिते । आशिषले १२० केजी वजन उठाए । भरत बिसी (६५ केजी) दोश्रो तथा रविन्द्र खत्री (५५ केजी) तेश्रो भए । ७२ केजीमाथि राजाराम सिलवालले प्रतिद्वन्द्वीलाई उछिन्दै स्वर्ण हात पार्ने क्रममा ९० केजी भार उचाले । शरद पौडेल (८० केजी) दोश्रो तथा निर्मल श्रेष्ठ (७० केजी) तेश्रो भए । एकदिने प्रतियोगितामा २७ पुरुष खेलाडीले ४ तथा १५ महिला खेलाडीले २ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।