टेलिकमले एकैपटक २२ वटा अफर ल्यायो

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
नेपाल टेलिकमले विभिन्न २२ वटा प्याकेजसहितको विन्टर अफर ल्याएको छ । उक्त अफरअन्तर्गतको सेवा आइतबारदेखि लागँ भई आगामी चैत २८ गतेसम्म लिन सकिने टेलिकमले जनाएको छ । कम्पनीका अनुसार यसअघि उपलब्ध अटम अफर अन्तर्गतका सेवामा केही थप सुविधा उपलब्ध गराएर विन्टर अफर ल्याइएको हो ।

कम्पनीले ल्याएका अपरमध्ये ह्याप्पी विकेन्ड प्याकमा जीएसएम÷सीडीएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा ह्याप्पी विकेन्ड प्याकअन्तर्गत शुक्रबार, शनिबार र आइतबार प्रत्येक दिन १ जीबी डाटा प्रयोग गर्न सकिने छ । सो प्याक एक सय रुपियाँमा प्राप्त हुनेछ । सात दिनसम्म यसको समयावधि हुनेछ ।

अल टाइम डाटा प्याकअन्तर्गत कम्पनीले उपलब्ध गराएका विभिन्न प्याकेजमा ५० प्रतिशत थप बोनस डाटा उपलब्ध गराउने भएको छ ।
यसअन्तर्गत १० रुपियाँदेखि ५ सय रुपियाँमा बोनससहित २३ एमबीदेखि ४ हजार ५ सय एमबीसम्मका प्याकेज खरिद गर्न सकिनेछ । यस्तो प्याकेजको अवधि १ दिनदेखि २८ दिनसम्म हुनेछ ।

त्यस्तै नाइट टाइम भोलुम बेस्ड डाटा प्याकमा नाइट टाइम भोलुम बेस्ड डाटा प्याक प्रयोग गर्न सकिन्छ । यसमा पनि थप ५० प्रतिशत बोनस डाटा उपलब्ध हुनेछ । यसअन्तर्गत ५ रुपियाँमा ६८ एमबी डाटा एक रात प्रयोग गर्न सकिने छ ।

त्यसैगरी ७ दिनको ४५ रुपियाँमा ६३८ एमबी डाटा र २८ दिनको ७ हजार ६८० एमबी डाटा तीन सय रुपियाँमा प्रयोग गर्न सकिनेछ । यो प्याक राती १० बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

अनलिमिटेड नाइट टाइम डाटा प्याकअन्तर्गत १५ रुपियाँमा अनलिमिटेड डाटा राती १० बजेदेखि बिहान ६ बजेसम्म चलाउन पाइनेछ । यसको अवधि डाटा खरिद गरेको एक दिनसम्म हुनेछ । त्यस्तै ८५ रुपियाँमा ७ दिनसम्म र २ सय ४० रुपियाँमा २८ दिनसम्म अनलिमिटेड डाटा राती १० बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न सकिन्छ । माथि सबै प्याकमा १ जीबी डाटासम्म थ्रिजी÷फोरजीको गतिमा चल्नेछ र त्यसपछि २५६ केबीपीएसको गतिमा अनलिमिटेड चल्ने छ ।

अल टाइम सोसियल मिडिया डाटा प्याकअन्तर्गत सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र ट्वीटर चलाउन सकिनेछ । यसमा पनि थप ५० प्रतिशत बोनस डाटा उपलब्ध हुनेछ ।

थप बोनससमेत गरी ५ रुपियाँमा ३० एमबी डाटा १ दिन, २५ रुपियाँमा १३५ एमबी डाटा ७ दिन र १ सय रुपियाँमा ६७५ एमबी डाटा २८ दिनका लागि उपलब्ध हुनेछ । २ सय रुपियाँमा १५ सय एमबी डाटा २८ दिन समयावधिका लागि उपलब्ध हुनेछ ।

अल टाइम डाटा स्ट्रिमिङ प्याकअन्तर्गत युट्युब र वाउटाइम एप्स चलाउन सकिनेछ । यसमा पनि थप ५० प्रतिशत बोनस डाटा उपलब्ध हुनेछ । थप बोनस डाटा समेत गरी १० रुपियाँमा १५० एमबी डाटा १ दिनका लागि, ४५ रुपियाँमा ६ सय एमबी डाटा ७ दिनका लागि र ११५ रुपियाँमा १९५० एमबी डाटा २८ दिनका लागि उपलब्ध हुने छ ।

अल टाइम फोरजी डाटा प्याकमा पनि थप ५० प्रतिशत बोनस डाटा उपलब्ध हुनेछ । यसअन्तर्गत १२ रुपियाँदेखि ५ सय रुपियाँसम्मका बोनससहित ३८ एमबी देखि ४ हजार ६०८ एमबीसम्मको प्याकेज उपलब्ध हुन्छ । यी प्याकेज १ दिनदेखि २८ दिनसम्म उपयोग गर्न सकिन्छ ।

जीएसएम÷सीडीएमए थ्रिजी÷फोरजी एक जीबी प्रतिदिनको डाटा प्याक ४५ रुपियाँमा १ जीबी डाटा १ दिनका लागि, २५० रुपियाँमा ७ जीबी डाटा ७ दिन र ८५० रुपियाँमा २८ जीबी डाटा २८ दिनका लागि उपलब्ध हुनेछ । यसमा प्रतिदिन २० मिनेट स्ट्रिमिङ प्याक बोनसको रुपमा प्राप्त हुनेछ ।

अल टाइम भ्वाइस प्याकअन्तर्गत एक दिनदेखि ६० दिन समयावधिसम्म प्रयोग गर्न सकिने प्याकेज प्राप्त गर्न सकिने छ । यी प्याकेज १० रुपियाँदेखि ५५० रुपियाँसम्ममा खरिद गर्न सकिने छ । यसरी प्राप्त प्याकेजमार्फत गरिने कल नेपाल टेलिकमको नेटवर्कभित्रका लागि मात्र उपलब्ध हुनेछ ।

त्यस्तै नाइट टाइम भ्वाइस प्याकअन्तर्गत ५ रुपियाँमा १ दिनसम्म ३० मिनेट, १२ रुपियाँमा १ दिनसम्म असीमित समय, २५ रुपियाँमा ७ दिनसम्म २४० मिनेट र १०० रुपियाँमा २८ दिनसम्म ११०० मिनेट कल गर्न सकिनेछ । सो प्याक राती १० बजेदेखि बिहान ६ बजेसम्म कम्पनीकै नेटवर्कभित्र मात्र प्रयोग गर्न सकिने छ ।

सीयुजी प्याकेजअन्तर्गत कम्पनीले कर्पोरेट ग्राहकका लागि सीयँजी (कर्पोरेट युजर ग्रुप) प्याकेज उपलब्ध गराएको छ । यसअन्तर्गत कम्पनीकै नेटवर्कमा प्रिपेड ग्राहकले २ सय रुपियाँमा ६५ मिनेट भ्वाइस कल तथा १२५ एमबी डाटा र २५ वटा एसएमएस पठाउन सक्ने छन् ।

४ सय रुपियाँमा १५० मिनेट भ्वाइस कल, ३ सय एमबी डाटा र ५० वटा एसएमएस । साथै ७ सय रुपियाँमा ३ सय मिनेट भ्वाइस कल , ८ सय एमबी डाटा र सय वटा एसएमएस छ । हजार रुपियाँमा ४५० मिनेट भ्वाइस कल, १५ सय एमबी डाटा र १५० वटा एसएमएस, १३ सय रुपियाँमा ६ सय मिनेट भ्वाइस कल, २१ सय एमबी डाटा र २ सय वटा एसएमएस तथा १६ सय रुपियाँमा ७५० मिनेट भ्वाइस कल, २७ सय एमबी डाटा र २५० वटा एसएमएस पठाउन सकिने छ ।

डे प्याकअन्तर्गत ६ रुपियाँमा भ्वाइस र डाटा चलाउन मिल्ने छुट्टाछुट्टै प्याकेज लिन सकिने छ । यसअन्तर्गत ६ रुपियाँमा विहान ६ देखि बेलुकी ६ बजेसम्म ६० मिनेट कल गर्न वा ३६ एमबी डाटा चलाउन सकिने छ ।

एसएमएस प्याकअन्तर्गत ५ रुपियाँमा १ दिनसम्म उपभोग गर्न पाउने गरी २० वटा एसएमएस र थप २५ प्रतिशत बोनस एसएमएस समेत उपलब्ध गराइएको छ । त्यस्तै १५ रुपियाँमा ७ दिनसम्म उपभोग गर्न पाउने गरी ७० वटा एसएमएस र ६० रुपियाँमा २८ दिनसम्म उपभोग गर्न पाउने गरी ३ सय वटा एसएमएस गर्न सकिने छ । यसमा पनि थप २५ प्रतिशत बोनस एसएमएस उपलब्ध गराइएको छ ।

नेपाल टेलिकमको एफटीटीएचअन्तर्गत व्यक्तिगततर्फ ८ एमबीपीएस, १८ एमबीपीएस, ३५ एमबीपीएस र ५५ एमबीपीएसका प्याकेज उपलब्ध छन् । यी प्याकेज ८ सयदेखि १८ हजार ४ सय रुपियाँसम्ममा खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

एफटीटीएच कर्पोरेट युजर प्याकेजअन्तर्गत कर्पोरेट ग्राहकका लागि १० एमबीपीएस गतिको एफटीटीएच प्याकेज ३ महिनाका लागि १० हजार ३ सय, ६ महिनाका लागि १८ हजार ४ सय र १ वर्षका लागि ३४ हजार ५०० रुपियाँमा उपलब्ध गराइएको छ । त्यसैगरी २० एमबीपीएस गतिको एफटीटीएच प्याकेज ३ महिनाका लागि १९ हजार ५ सय रुपियाँ, ६ महिनाका लागि ३६ हजार ८०० रुपियाँ र एक वर्षका लागि ६९ हजार रुपियाँमा उपलब्ध हुनेछ ।

एडीएसएल भोलुम बेस्ड प्याकेजमा ५ एमबीपीएससम्मको गतिमा १५ जीबी डाटा २०० रुपियाँमा ३० दिनसम्मका लागि उपलब्ध गराएको छ । २५ जीबी डाटा ३ सय रुपियाँमा र ४० जीबी डाटा ४ सय रुपियाँमा ३० दिनसम्मका लागि उपलब्ध गराएको टेलिकमले जनाएको छ ।

एडीएसएल अनलिमिटेड प्याकेजमा ५ एमबीपीएससम्मको गतिमा ८ सय रुपियाँमा ३० दिन, ४३ सय रुपियाँमा १८० दिन र ८ हजार रुपियाँमा ३६० दिनसम्मका लागि उपलब्ध गराइएको छ ।

एक घण्टा अनलिमिटेड प्याकअन्तर्गत कम्पनीकै नेटवर्कमा १८ रुपियाँमा प्याक एक्टिभ भएपश्चात १ घण्टासम्म निरन्तर भ्वाइस, एसएमएस र डाटा असिमित रुपमा प्रयोग गर्न सक्ने छन् ।

यसैगरी विद्यार्थी अफरअन्तर्गत नयाँ सिममा उपलब्ध हुने ५० रुपियाँमध्ये कम्पनीकै नेटवर्कमा विद्यार्थीले १० रुपियाँबराबर कल गर्न, डाटा खरिद गर्न वा एसएमएस गर्न वा यी सबै सेवा प्रयोग गर्न सक्ने छन ।

बाँकी ४० रुपियाँमा ४० मिनेट कल, ६० एमबी डाटा र २० वटा एसएमएस गर्न सकिने छ । यी सबै सुविधा ३० दिनभित्र उपभोग गरिसक्नुपर्नेछ । साथै बोनसको रुपमा कम्पनीकै नेटवर्कमा विद्यार्थीले प्रतिमहिना ४० मिनेट भ्वाइस कल, ६० एमबी डाटा र २० वटा एसएमएस पठाउन सक्ने छन । यो सुविधा उपभोग गर्ने समयावधि ७ दिनको हुनेछ । प्रतिमहिना प्राप्त हुने बोनस ६ महिनासम्म उपलब्ध हुनेछ ।

विद्यार्थीलाई ५० रुपियाँको रिचार्जमा १० मिनेटको भ्वाइस र ५० एमबी डाटा बोनस उपलब्ध हुनेछ । यो सुविधा उपभोग गर्ने समयावधि ३ दिनको हुनेछ । रिचार्ज बोनस ५० रुपियाँ वा सोभन्दा माथिको रिचार्जमा उपलब्ध हुनेछ । रिचार्जमा प्राप्त हुने उपरोक्त बोनस एक वर्षसम्म उपलब्ध हुनेछ ।

उता, इन्डिया कल अफरमा कम्पनीले डेली प्याकअन्तर्गत ३५ रुपियाँमा १५ मिनेट कल १ दिनका लागि मात्र उपलब्ध हुनेछ, विक्ली प्याकअन्तर्गत १५० रुपियाँमा ६५ मिनेट र मन्थ्ली प्याक अन्तर्गत ५ सय रुपियाँमा २१५ मिनेट कल गर्न सकिने छ ।

मिस्ड कल अलर्टअन्तगत नम्बर व्यस्त भएको अवस्थामा, नेटवर्क नभएको अवस्थामा र स्वीच अफ भएको अवस्थामा कसैको कल आएमा पछि त्यसको बारेमा एसएमएसमार्फत नोटिफिकेसन आउनेछ । यो सेवा लिन मासिक ६ रुपियाँ शुल्क लाग्ने छ । यो सुविधाको समयावधि ३० दिनको हुनेछ ।
एफटीटीएचमा निःशुल्क भ्वाइस सेवा लिने नयाँ तथा पुराना ग्राहकले ९० दिनसम्म कम्पनीकै नेटवर्कभित्र निःशुल्क भ्वाइस सेवा अर्थात सिप कल सेवा उपयोग गर्न सक्ने छन् । उल्लेख गरिएका सबै दर करसहित रहेको कम्पनीले जनाएको छ ।