अब कारागारका कैदी बन्दीलाई पनि फुर्सद नदिईने

0
Shares

धनवीर दाहाल, रुकुम ।
नेपाल प्रहरीले नागरिकसँगको सम्बन्ध सुमधुर बनाउन र नागरिकलाई पनि बिना वर्दीका प्रहरी हौ भन्ने अनुभुति दिनका लागी बिभिन्न कार्यक्रमहरु संचालन गरिरहेको छ । प्रहरी हाम्रो साथी, समुदाय प्रहरी साझेदारी लगाएतका कार्यक्रम संचालन गरिरहेको प्रहरीले अव भने कारागार भित्रका कैदी बन्दीलाई पनि फुर्सदमा बस्न नदिन र उनीहरुलाई सुधार गर्नका लागी कारागारलाई किताव कार्यक्रम संचालनमा ल्याउने भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयको पहलमा कारागारलाई किताव कार्यक्रम रुकुम पश्चिममा सुरुवात हुन थालेको जानकारी गराइएको छ ।

कारागारका कैदी बन्दीहरुको फुर्सदको समयको सदुपयोग गर्न, ज्ञान अभिबृद्धि गर्न, जेल जिवन पश्चात पुर्नस्थापना भई असल नागरिक बन्न उत्प्रेरित गराउने उद्धेश्यका साथ यो कार्यक्रम संचालन गरिएको रुकुम पश्चिमका प्रहरी नायव उपरिक्षक सुमित खड्काले जानकारी दिनुभयो । प्रहरी प्रमुख डिएसपी खडकाले भन्नुभयो “उनीहरुलाई कारागार भित्र फुर्सदमा बसाल्नुभन्दा उनीहरुको ज्ञानमा विकास होस भन्ने मुख्य उद्धेश्य हो ।”

कारागारलाई किताव कार्यक्रमले अवराधको न्युनिकरणमा सघाउ पुर्याउने बिश्वास गरिएको छ । शान्ति सुव्यवस्था कायम गर्न र सभ्य समाज निर्माण गर्नमा कारगारलाई किताव कार्यक्रमले राम्रो सन्देश दिने प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बिश्वास व्यक्त गर्नुभयो । जेलमा भन्दा बाहिर आइसकेपछि उनीहरुमा समाज परिवर्तनको सकारात्मक भाव पैदा गराउनमा कारागारलाई किताव कार्यक्रमको देन हुने प्रमुख जिल्ला अधिकारी रेग्मीको भनाई छ ।

कारागारलाई अव सुधार गृहको रुपमा विकास गर्नुपर्ने मुसिकोट नगरपालिकाका प्रमुख देवीलाल गौतमको जोड छ । कारागारलाई खुल्ला सुधारगृहको रुपमा विकास गर्नुपर्ने नगरप्रमुख गौतमले बताउनुभयो । जिल्ला समन्वय समिती उपप्रमुख इन्दीरा बिएमले अध्ययन सामाग्री दिएर उनीहरुलाई बाँकी जिवन समाजमा राम्रो काम गर्न उत्प्रेरित गराउनुपर्ने बताउनुभयो ।

कारागारमा जेल जीवन बिताइरहेका व्यक्तिहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउन यो कार्यक्रम महत्वपुर्ण हुने बिश्वास गरिएको छ । उनीहरुलाई फुर्सदमा बस्न नदिई अध्ययनमा व्यस्थ गराउनका लागी पनि कर्णाली प्रदेश प्रहरीले यस्तो अभियान थालेको बताएको छ ।