बैतडीका ९ स्थानीय तह दुर्गममा वर्गीकरण

1.5k
Shares

विनोद सिंह विष्ट, बैतडी ।
सरकारले हालै गरेको स्थानीय तहको प्रारम्भिक वर्गीकरणमा बैतडीका ९ स्थानीय तह दुर्गमको सुचीमा रहेका छन् । जसमध्ये आधा स्थानीय तह अति दुर्गमका रुपमा वर्गीकरण भएका छन् ।

१० स्थानीय तह रहेको बैतडीका ५ स्थानीय तह अति दुर्गमका रुपमा वर्गीकरण भएका हुन् । ६ गाउँपालिका र ४ नगरपालिकामध्येवाट दोगडाकेदार बाहेकका अरु ५ गाउँपालिका अति दुर्गममा परेका हुन् । भने ४ नगरपालिकामध्ये दशरथचन्द नगरपािलका मध्यम वर्गमा परेको छ भने अरु नगरपालिका दुर्गममा परेका छन् ।

डिलाशैनी गाउँपालिका,पञ्चेश्वर गाउँपालिका,शिवनाथ गाउँपालिका, सिगास गाउँपालिका र सुर्नया गाउँपालिका अति दुर्गममा परेका छन् । पाटन नगरपालिका , मेलौली नगरपालिका, पुर्चौडी नगरपालिका र दोगडाकेदार गाउँपालिका दुर्गमका रुपमा वर्गीकरणमा रहेका छन् । दशरथचन्द नगरपालिका भने मध्यम दुर्गमका रुपमा वर्गीकरण परेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पूर्वाधार तथा सामाजिक विकासका आधारमा ७५३ स्थानीय तहलाई चार वर्गमा वर्गीकरण गरिएको हो ।

जसमा अति दुर्गम ‘क’ वर्गका १६२, दुर्गम ‘ख’ वर्गका २१८, मध्यम ‘ग’ वर्गका २७५ र सुगम ‘घ’ वर्गका ९८ वटा स्थानीय तह रहेका छन् । मन्त्रालयले यातायातको सुविधा (सडक र हवाई यातायातको गुणस्तर र नियमितता), प्रदेश राजधानीदेखिको दूरी, जिल्ला सदरमुकाम देखिको दूरी, स्थानीय तहमा उपलब्ध शिक्षा, स्वास्थ्य सेवा, दूरसञ्चार सेवा, विद्युत् सेवाको पहुँच र नियमितता, मानव विकास सूचकाङ्क, भौगोलिक अवस्थिति र स्थानीय तहको स्तरसमेतका आधारमा सूचक निर्धारण गरी वर्गीकरण गरिएको हो ।

मन्त्रालयले जिल्ला समन्वय समितिले पठाएको विवरणका आधारमा वर्गीकरण गरेको हो । मन्त्रालयले आफू वर्गीकरणमा परेको चित्तबुझ्दो नभए सात दिनभित्र स्थानीय तहलाई मन्त्रालयमा उजुरी गर्नसमेत आग्रह गरेको छ ।

वर्गीकरणका आधारका स्थानीय तहको विकासमा प्राथमिकता र स्थानीय तहमा खटिने कर्मचारीको व्यवस्थापन, कर्मचारीको सेवा सुविधा र वृत्तिविकासमा समेत वस्तुगत बनाउन सजिलो हुने विश्वास गरिएको छ ।