ट्युबको यात्रालाई विदाई, पुलको यात्रालाई स्वागत

0
Shares

किरन धामी, दार्चुला ।
वर्षौँ देखी जोखिम मोलेर ट्युबको यात्रा गर्न बाध्य लेकमबासी अब भने पुलको यात्रा गर्न पाउने भएका छन् । लेकम गाउँपालिका ३ लालीमा नेपाल–भारत जोड्ने झोलुंगे पुल निर्माण भए पछि वर्षौ देखी ट्युबको जोखिमपुर्ण यात्रा गर्न बाध्य लेकमबासीलाई सहजता भएको छ । भारतसँग सीमा जोडिएको लेकम गाउँपालिकाको लालीमा वर्षौ देखी सञ्चालनमा रहेको ट्युबलाई विस्थापन गरी झोलुंगे पुल निर्माण गरिएको छ ।

पुल निर्माणको काम औपचारिक रुपमा सम्पन्न भएको पुल निर्माणको जिम्मा पाएको निर्माण कम्पनी मनोमालिका कन्सट्रक्सनका प्रतिनिधि दिपक साउँदले बताए । पुलको निर्माण कार्य पुरा भए पनि तत्काल पुलबाट आवत जावत गर्नमा भने रोक लगाइएको छ । पुलको प्राविधिक रुपमा स्वीकृत गरेपछि मात्रै आवत जावत निर्वाद रुपमा गर्न दिइने उनले बताए ।

लेकम गाउँपालिकालाई भारतसँग जोड्ने झोलुंगे पुल निर्माणका लागि २०७३ असोज ४ गते १ करोड ३२ लाख रुपैयाँमा निर्माण कम्पनी संग सम्झौता भएको थियो । ढिलै भएपनि ट्युबको जोखिमपुर्ण यात्रा गर्न बाध्य स्थानिय पुल निर्माण भए पछि हर्षित भएका छन् । वर्षौदेखि महाकाली नदीमाथि ट्युबको सहारामा आवत जावत गर्दै आएका स्थानीयलाई पुल निर्माणले सहज भएको सीमा प्रहरी चौकी लालीका निमित्त प्रमुख गणेश बुडालले बताए ।

पुल निर्माणपछि लेकम गाउँपालिका वडा नम्बर १, २, ३, ४, र ५ का स्थानीयलाई आवत जावतमा सहजता हुने गाउँपालिका स्थानीय गणेश भण्डारीले बताए ।