नाइँ नभन्नु ल ५ फिल्ममा समावेश बालापनको उमेर बोलको गीतबाट चर्चामा आएकी गायिका समीक्षा अधिकारिको दोस्रो गीत सार्वजनिक भएको छ।
शुक्रबार राजधानीमा आयोजित एक समरोहबीच उनको दोस्रो गीत वनमा काफल पाक्यो सार्वजनिक गरिएको हो।
समीक्षालाई नाइँ नभन्नु ल ५ मा संगीतकार बसन्त सापकोटाले गीत गाउने अवसर दिएका थिए। सानो उमेर भए पनि सुमधुर स्वर भएकी समीक्षालाई संगीतकार सापकोटाले नै काठमाडौंमै ल्याएर दोस्रो गीत रेकर्ड गराएका हुन्। सार्वजनिक नयाँ गीत वनमा काफल पाक्योमा समीक्षाको एकल स्वर रहेको छ भने बसन्त सापकोटाले संगीत भरेका छन्। गीतमा गीतकार दिनेश थपलियाको शब्दरचना रहेको छ। यो गीतको म्युजिक भिडियो पनि निर्माण गरिएको छ।
भिडियो सरोज ओलीले निर्देशन गरेका छन्। गीतले रोजगारीको शिलशिलामा विदेश बस्ने बुबा र स्वदेशमा बस्ने सन्तानहरुको कथालाई मार्मिक ढंगले प्रस्तुत गरेको छ। भिडियोमा समीक्षा अधिकारी र बसन्त सापकोटाले अभिनय गरेका छन्। गीत विदेशमा बस्ने बुबाहरूप्रति समर्पित छ। कार्यक्रममा बोल्दै संगीतकार सापकोटाले समीक्षालाई सुरुआती चरणमा आफूले गाइड गर्ने तर अरुको गीत पनि गाउन दिने बताए।
‘म समीक्षाको स्वरमा सिन्डिकेट गर्ने छैन। यसअघि प्रेम परियारलाई पनि मैले ब्रेक दिएँ, तर सिन्डिकेट गरिनँ। त्यसपछि पनि कतिपय गायक गायिकालाई ल्याएँ तर सिन्डिकेट गरेको छैन’, कार्यक्रममा सापकोटाले भने– ‘समीक्षालाई पहिलो फेजमा गाइड गर्छु। तर अरुको गीत गाउनबाट रोक्दिनँ। गीत उनलाई र मलाई भने मन पर्नुपर्छ।’











प्रतिक्रिया