स्पष्ट नीति अभावमा प्रदेशअन्तर्गतका सडक अलपत्र

0
Shares

चिरञ्जीवी मास्के, दोलखा
प्रदेश र संघ कसले काम गर्ने भन्ने स्पष्ट नीतिको अभावमा दोलखा र सिन्धुपाल्चोकका झण्डै २४ ओटा सडक अलपत्र अवस्थामा रहेको छ । सरकारले प्रदेश अन्र्तगत पठाएको उल्लेखीत सडकहरु आवश्यक जनशक्ति र बजेटको अभावका कारण अलपत्र अवस्थामा रहेको हो ।

पहिले दोलखामा रहेको डिभिजन सडक कार्यालयले दोलखा र सिन्धुपाल्चोकका सडकहरुको काम गरिरहेकोमा मुलुक संघियतामा गएपछि दोलखामा रहेको डिभिजन सडक कार्यालयलाई सडक डिभिजन कार्यालय नामाकरण गरी संघ अन्र्तगत राखिएको छ भने प्रदेश अन्र्तगतको सडक कार्यालय सिनधुपाल्चोकमा रहेको छ ।

मुलुक संघियतामा गएपछि दोलखाको ११ वटा र सिन्धुपाल्चोकको १३ वटा निर्माणाधिन सडक प्रदेश अन्र्तगत गएका छन् । प्रदेश अन्र्तगत गएका सडक कसले हेर्ने र बजेट कसरी व्यवस्थापन गर्ने भन्ने समस्याका कारण दोलखा र सिनधुपाल्चोकका निर्माणाधिन २४ भनदा बढी सडक अलपत्र अवस्थामा रहेको सडक डिभिजन कार्यालय दोलखाका डिभिजन इन्जिनियर धमेन्द्रकुमार झाले बताए ।

स्पष्ट नीतिको अभाव हुदाहुदै पनि कतिपय काम नगरी नहुने खालका सडकका काम भने सडक डिभिजन कार्यालय दोलखाले हेरीरहेको डिभिजन इन्जिनियर झाले बताए । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले २०७५ साल मंसिर २१ गते सडक विभागलाई एउटा परिपत्र गरी सम्बन्धित कार्यालयले अनुमति दिएमा प्रदेश अन्र्तगत गएका सडकहरुको काम सडक डिभिजन कार्यालय मार्फत गराउन सक्ने जानकारी गराएकोले प्रदेश सरकारले अनुमति दिएमा प्रदेश अन्र्तगत गएका दोलखा र सिनधुपाल्चोकका सडकहरुको काम पूर्ण रुपमा सडक डिभिजन कार्यालय दोलखाले हेर्न सक्ने डिभिजन इन्जिनियर झाको भनाई छ ।

जनशक्तिको अभावकै कारण प्रदेश सरकारले भनेजसरी प्राविधिकहरुमात्र उपलब्ध गराउन भने नसकिने झाले बताए । उक्त कुरा भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयलले सडक विभागलाई गरेको परिपत्रमा समेत उल्लेख भएको झाले बताए ।

निर्माणाधिन कतिपय सडकहरु प्रदेश अन्र्तगत गएर काम बन्द भएको र बजेट समेत निकासा नभएकोले सम्बन्धित सडकका निर्माण व्यवसायीहरुले आफुहरु समस्यामा परेको गुनासो गरेका छन् । काम भएन भने सरकारले निर्माण व्यवसायीहरुलाई कालो सूचिमा राख्छौ भनेर तर्साउछ अनि कतिपय निर्माण व्यवसायीले काम गरेको पैसा समेत पाउन नसकेर समस्यामा परेका छन् – एक जना निर्माण व्यवसायीले गुनासो गर्दै भने ।