नेपाल समाचारपत्र, हेटौंडा
मकवानपुरको मनहरी गाउँपालिका–९, रजैया र ३ नम्बर वडाको लामिटार जोड्न राप्तीखोलामा पक्की पुल निर्माण भएको करिब एक वर्ष भएको छ ।
पक्की पुलका कारण हाँडीखोलाको मुहार फेरिएको छ । पुलको अभावमा वर्षौंदेखि विभिन्न समस्या झेल्न बाध्य हाँडीखोलाबासी पुल बनेपछि खुसी छन् । लामो समयदेखि पुल माग गर्दै आन्दोलन र संघर्ष गर्दै आएका हाँडीखोलाबासी पक्की पुल बनेपछि खुसी भएका हुन् ।
हाल हाँडीखोलाको मसिनेसम्म लोकल बसदेखि माइक्रो, म्याजिकलगायत साधन पुग्ने गरेका छन् भने मनहरी र बसामाडीका बोर्डिङका बसहरु विद्यार्थी लिन घरघरै पुग्ने गरेका छन् । ‘हाम्रा पनि खुसीको दिन आउला भन्ने सोचेका थिएनौं, राप्तीखोलाको लागि आएको पुल अन्तै लगेको हल्ला सुनिन्थ्यो ।
बल्लबल्ल पुल पनि बन्यो, अहिले हामीलाई केही अभाव छैन,’ हाँडीखोलाका शिवराम अर्यालले भन्नुभयो–घरघरमै गाडी आउने गरेको छ । वर्षामा खोलाले वारिपारि आउजाउमा समस्या पार्ला भन्ने चिन्ता सधैंका लागि हटेको छ ।
लामो समयदेखि तरकारी खेती गर्दै आएका स्थानीय झन खुसी छन् ।
‘तरकारीको बोरा र डोको बोकेर एकोहोरो बाटो हिँडेर बजार पु¥याउनुपथ्र्यो,’ पुराना दिन सम्झिँदै हाँडीखोला लामिटारका कृष्णप्रसाद अधिकारीले भन्नुभयो–ती दिनहरु सम्झिँदा अहिले पनि आत्तेस लागेर आउँछ । अहिले खेतबाटै गाडीले तरकारी उठाउने गरेका छन् ।
हाँडीखोला तरकारी खेतीका लागि देशमै नाम कमाएको स्थान हो । उक्त स्थानलाई ‘तरकारीको राजधानी’ का रुपमा लिने गरिन्छ । काउली, बरेला, बन्दा, घिउसिमी, आलु, गोलभेंडालगायत तरकारी हाँडीखोलामा उब्जनी हुने गरेको छ । पुलको कारण क्याम्पस पढ्ने विद्यार्थीलाई समेत सहजता प्रदान गरेको छ । तीन वर्षमा निर्माण कार्य सकाउने गरी ५ करोड २ लाख रुपियाँमा २०७० जेठ १३ गते निर्माण सम्झौता भएको पुल करिब एक वर्षअघि निर्माणसम्पन्न भएको हो ।
एकसय २७ मिटर लम्बाइ र ७ दशमलव २ मिटर चौडाईंको पुल बिटी फ्युचर स्टार कम्पनीले निर्माण गरेको हो । पक्की पुलबाट मनहरी गाउँपालिकाको ९ नम्बर वडाबासीसहित साबिक हाँडीखोलाबासी प्रत्यक्ष लाभान्वित हुँदै आएका छन् ।
पक्की पुल रहेको स्थान लामिटारदेखि हाँडीखोलाको विभिन्न स्थानमा जाने बाटो फराकिलो र पिच हुनुपर्ने स्थानीयले माग गरेका छन् । लोकल सवारीदेखि अन्य सवारी गुड्दै आएको फायरलाइन बाटो ग्राबेलिङको अबस्थामा केही साँघुरो छ । दैनिक आवतजावत गर्ने सवारीका कारण बाटोमा धुलो उत्तिकै उडिरहेको छ ।
बाटो फराकिलो र पिच भए हाँडीखोलाको लामिटार, मसिने, हाँडीखोलालगायत क्षेत्रका सर्वसाधारणलाई थप सहज हुने स्थानीयले बताएका छन् । बाटो फराकिलो गरी पिच गर्न पाइयो भने निकै राम्रो हुने स्थानीय समाजसेवी गोपी अर्यालले भने । गाउँपालिकाको पहलमा बाटो स्तरीकरणका लागि केन्द्रीय सरकारमार्फत् एक करोडको बजेट स्वीकृत भएको छ । आगामी दिनमा पनि क्रमागतरुपमा बजेट आउने गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो ।
पक्की पुलदेखि हाँडीखोलाको बाटो फराकिलो र पिच हुनु आवश्यक रहेको उहाँले स्वीकार गर्नुभयो । यसका लागि गाउँपालिकाको तर्फबाट सक्दो सहयोग हुने अध्यक्ष उप्रेतीले बताउनुभयो ।











प्रतिक्रिया