सरसफाईमा अगाडि बढ्दै महाकाली नगरपालिका

0
Shares

किरन धामी, दार्चुला ।
२०७१ सालमा स्थापना भएको दार्चुला जिल्ला सदरमुकाम खलंगामा रहेको महाकाली नगरपालिकाले सरसफाईको क्षेत्रमा प्रगति गर्दै गइरहेको छ । २०७१ सालमा साविकका खलंगा, कांटै, छापरी, धाप र ब्रहमदेव गाविस समावेश गरी स्थापना भएको नगरपालिकाको नाम अपिनगरपालिका कायम गरिएको थियो । देश संघिय संरचनामा जाने बेला अपिनगरपालिकाका विभिन्न वडा तथा साविकको दत्तु गाविसलाई समावेश गरी नगरपालिकाको नाम महाकाली नगरपालिका कायम गरिएको थियो ।

विगत देखी नै नगर क्षेत्र भित्र उत्पादन हुने फोहोरको उचित व्यवस्थापन गर्न नसकेको नगरपालिकाले अहिले भने उत्पादित फोहोर व्यवस्थित गर्दै सरसफाईमा प्रगति हासिल गरिरहेको छ । नगर क्षेत्र भित्र उत्पादित फोहोर व्यवस्थित हुन नसके पछि महाकाली नगरपालिकाको जनप्रतिनधि सहितको टोली नेपालका धनकुटा जिल्लाको धनकुटा नगरपालिका र स्याङ्जाको वालिङ नगरपालिकाले फोहोर व्यवस्थापनका लागी गरेका प्रयासलाई अवलोकन गर्न त्यस तर्फ गएको थियो ।

नगर क्षेत्र भित्र उत्पादित फोहोरको उचित व्यवस्थापन गरि दुई दुई पटक नेपाल सरकारबाट पुरुस्कृत हुन सफल ति दुई नगरपालिकाले फोहोर व्यवस्थापनका लागी गरेका प्रयासलाई आत्मसाथ गर्दै महाकाली नगरपालिकाको टिमले फोहोर व्यवस्थापनका रणनिति बनाएर अघि बढे संगै फोहोरको उचित व्यवस्थापन तथा नगर क्षेत्रको सरसफाईमा प्रगति हुदै गएको छ । अवलोकन भ्रमण पछि नगर क्षेत्र भित्र उत्पादन हुने फोहोरको व्यवस्थापनमा उल्लेख्य प्रगति हासिल भएको महाकाली नगरपालिकाले जनाएको छ ।

धनकुटाको धनकुटा नगरपालिका र स्याङ्जाको वालिङ नगरपालिकाले नगर क्षेत्र भित्र उत्पादन हुने फोहोरलाई कुहिने र नकुहिने गरि दुई भागमा विभाजन गरि संकलन गर्ने गरेका रहेछन् ति नगरपालिकाले गरे झै महाकाली नगरपालिकाले पनि अहिले प्रत्येक दिन कुहिने र नकुहिने फोहोरलाई छुट्टा छुट्टै संकलन गरिरहेको छ । कुहिने र नकुहिने फोहोरलाई छुट्टा छुट्टै रुपमा संकलन गर्ने गरिए संगै फोहोर व्यवस्थापनमा प्रगति भएको छ । विगतका दिनमा नगर क्षेत्र भरी फोहोरै फोहोर देख्न सकिने भए पनि हिजो आज भने नगर क्षेत्र विगतको भन्दा निकै स्वच्छ सफा र सुन्दर देख्न सकिन्छ ।

नगरबासीहरु उत्पादित फोहोरको उचित व्यवस्थापनका लागी गरेको सहयोगका कारण अहिले नगर क्षेत्र विगतको भन्दा सरसफाईको क्षेत्रमा निकै अघि बढेको नगर प्रमुख हंसराज भट्टले बताए । महाकाली नगरपालिकामा २०६८ को जनजणना अनुसार २१ हजार जनसंख्या रहेको छ । विगतमा नगर क्षेत्र भित्र उत्पादन हुने फोहोर विर्सजनका लागी उचित स्थान नपाएको नगरपालिकाले अहिले भने फोहोर व्यवस्थापनका लागी उचित स्थान समेत प्राप्त गरिसकेको छ ।